काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा त्यसबारेमा समेत सांसदको राय लिइने बताइएको छ|
प्रतिनिधिसभा विघटन गरेपछि त्यस सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । त्यस फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका छन्|
Views: 0