२२ आश्विन २०७५, सोमवार काठमाडौं (अस) । विज्ञान, प्रविधि, इञ्जिनीयरिङ र गणितको क्षेत्रमा महिला सहभागिता एकदमै कम भएको तथ्याङ्क छ । अर्थशास्त्रको क्षेत्रमा पनि महिला सहभागिता र योगदान निकै कम छ । अमेरिकाका विश्वविद्यालयहरूमा स्थायी पदमा करीब १३ प्रतिशतमा मात्रै महिला अर्थशास्त्रीहरू रहेको गतवर्षको एक सर्वेक्षणले देखाएको थियो । बेलायतमा भने यो दर साढे १५ प्रतिशत छ । अहिलेसम्म अर्थशास्त्रतर्फको सबै नोबेल पुरस्कार पुरुषले जितेका छन् । यसको एकमात्र अपवाद अमेरिकी अर्थशास्त्री एलिनोर अष्ट्रोम हुन् । उनले सन् २००९ मा नोबेल पुरस्कार जितेर पुरुषको प्रभुत्व तोडेकी थिइन् ।
तर, त्यसयता दोस्रो नोबेल पुरस्कार महिला विजेताको नाम सुन्न हामीले सकेका छैनौं । अक्टोबर ८ मा ‘रोयल स्वीडिश एकेडेमी अफ साइन्सेस’ले यस वर्षको अर्थशास्त्रको पुरस्कार विजेता घोषणा गर्दै छ । यसपटक पुरस्कार कसले पाउँछ त्यो थाहा पाउन अब २४ घण्टा पनि कुर्नुपर्दैन । यसै सन्दर्भमा केही महिलावादीहरूले पक्षपात गरेर अर्थशास्त्रमा महिलालाई नोबेल पुरस्कार नदिइएको समेत भनेका छन् । अन्य विज्ञहरूले पनि यसबारे आआफ्नै तर्क दिएका छन् । यसै विषयमा स्वीडेनको लिनीयस युनिभर्सिटीका प्राध्यापक हुबर्ट फ्रोमलेटको भने छुट्टै तर्क छ ।
पछिल्लो समय अर्थशास्त्रतर्फ नोबेल पुरस्कार सन्1980 को दशक र सन् १९९० को दशकको शुरूमा गरेको योगदानका लागि दिइएको छ । त्यतिबेला वैज्ञानिक अनुसन्धान महिलाका लागि नौलो क्षेत्र थियो । अहिलेसम्म पनि कमै मात्र महिलाले नोबेल पुरस्कार पाउनुको मुख्य कारण यही हो ।
नोबेल पुरस्कार पछिको दोस्रो महवपूर्ण पुरस्कार ठानिएको जोन बेट्स क्लार्क मेडल पनि अहिलेसम्म तीन जना महिलाले मात्रै पाएका छन् । 4० वर्षभन्दा कम उमेरका उत्कृष्ट अमेरिकी अर्थशास्त्रीहरूलाई दिने यो पुरस्कारमा महिलाहरूको न्यून सहभागिताले पनि समस्या थप उजागर गर्छ । आर्थिक विचार र ज्ञानमा उल्लेख्य योगदान दिने व्यक्तिलाई यो पुरस्कार दिइन्छ ।
२०–३० वर्षभन्दा अघि वैज्ञानिक क्षेत्रमा उल्लेख उपलब्धि प्राप्त गर्नेलाई मात्रै पुरस्कारका लागि मनोनित गर्ने अनौपचारिक प्रचलनका कारण नोबेल पुरस्कारमा सम्भावित महिला उम्मेदवारको सहभागिता नगण्य भएको हो । यो समस्या अर्थशास्त्रमा मात्र नभई अन्य क्षेत्रमा पनि छ । त्यसैले नोबेल पुरस्कार विजेता छान्ने समितिले महिला उम्मेदवार र विजेताको सङ्ख्या बढाउन फरकफरक तरीकाबारे सोच्नुपर्ने बेला आएको छ । तर, स्पष्ट देखिने प्रगति भने एकाएक हुँदैन भन्छन् फ्रमलेट । भविष्यप्रति केन्द्रित उपाय अपनाउने हो भने महिला उम्मेदवारको सङ्ख्या बढ्न सक्छ । यसका लागि फ्रमलेटले केही उपाय पनि सिकाएका छन् ।
ती हुन् :
*पुरस्कार विजेता समितिमा पद रिक्त हुँदा महिलालाई नै नियुक्त गर्ने
*पियर–रिभ्युड जर्नल प्रकाशनमा महिलालाई सहजै पहुँच दिने
*महिलालाई पनि सहलेखिका राख्न जोड दिने
*सामूहिक अनुसन्धानमा महिलाको सहभागिता बढाउने
*नोबेल पुरस्कार मनोनयनमा धेरै महिलाको चयन गर्ने आदि
महिला अर्थशास्त्रीको अनुसन्धानले आर्थिक अनुसन्धानलाई फराकिलो बनाउँछ र सृजनशील दृष्टिकोण दिन्छ भन्ने तर्कहरू पनि आएका छन् । आगामी ५/१० वर्षमा भने हामीले फरक स्थिति देख्न पाउँछौं कि ? यसका लागि आर्थिक अनुसन्धानमा महिलाको सङ्ख्या दिगो रूपमा बढाउन थप प्रयास हुन जरुरी छ । अमेरिकन इकोनोमिक एशोसिएशन (एईए)का अनुसार विगत २ दशकयता विद्यावारिधि कार्यक्रममा महिलाहरूको सहभागिता बढ्न सकेको छैन । यसको अर्थ हो आगामी केही वर्षमा पनि अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि महिला उम्मेदवारको नाम छानिने सम्भावना खासै धेरै भने छैन ।
aavitann bata
Views: 0