काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुध तथा दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणाली नलगाउन प्रशासनसँग माग गरेको छ ।एसोसिएशनले आज प्रेस विज्ञप्ती जारी गरी योभन्दा पहिला भएका निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवातजावत गर्न दिइरहेकोमा यहि असार ८ गतेबाट लागू गरिएको नियम अनुसार गाडीमा जोरबिजोर प्रणालीले अति आवश्यक वस्तुको ढुवानीमा समस्या भएकोे जनाएको छ ।
अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालद्धारा जारी विज्ञप्तीमा एसोसिएशनले यातायातमा सहजीकरण गरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।एसोसिएशनले हरेक दिन व्यवसाय सञ्चालन गर्नैपर्ने र उद्योगमा धेरैवटा गाडी पनि नहुने बाध्यता भएकोले तत्काल बिक्री वितरण नगरिए दूधजस्तो अति संबेदनशील कुरा चाँडै विग्रने पनि जनाएको छ ।
एसोसिएसनले यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोमा आपत्तिसमेत जनाएको छ । एसोसिएसनले आफ्नो कामलाई एम्बुलेन्स सरह मान्यता दिन पनि माग गरेको छ ।एसोसिएसनले आफ्ना सवारी साधनहरुले पनि सरकारले जारी गरेको आदेश अनुरुप सबैखाले सुरक्षाका उपाय अपनाएको पनि स्पष्ट पारेको छ ।
Views: 0