दाँत जोगाउन र मुख स्वस्थ राख्न यी यी खानेकुरा रोजौँ

२०७५ आश्विन २८, आईतवार १६:०४ गते २०७५ आश्विन २८, आईतवार १६:०४ गते २०७५ आश्विन २८, आईतवार १६:०४ गते

खाना र मुखको स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुन्छ। स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ। मुख र दाँत स्वस्थ भएन भने राम्ररी खाना खान सकिँदैन र शरीर रोगले ग्रस्त हुन सक्छ।

स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझिन्छ। यी पौष्टिक तत्वहरु कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थ हुन्। कार्वोहाइड्रेट पाइने स्रोतहरु अन्न, आलु, दूधजन्य परिकार र फलफूल हुन्।

दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त (जस्तैः बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी आदि) खानेकुरा दाँतका लागि हानिकारक हुन्छ। यी खानेकुरा खाएपछि दाँत सफा गर्नु अपरिहार्य हुन्छ। कार्वोहाइड्रेटयुक्त खानेकुराबाट मुखमा हुने ब्याक्टेरियाले अम्लीय पदार्थ बनाँउछ। यो पदार्थले दाँतलाई क्षति गर्दछ र विस्तारै दातँमा खाल्डो पर्छ।

जसलाई समयमै उपचार गरेन भने यो बढेर जान्छ र दाँत दुख्छ। हामी यस्तो अवस्थालाई दाँतमा किरा लागेको भनेर बुझ्छौँ। रेसादार (फाइबरयुक्त) खानेकुराले दाँत सफा गर्छ र दाँतसम्बन्धी समस्या आउने सम्भावना कम हुन्छ। फाइबर अन्तर्गत गँहु, मकै, गेडागुडी, बन्दा, मुला, मटर, स्याउ, नास्पाती आदि पर्छन्। माछामासु, अण्डा, गेडागुडी, दूधजन्य परिकारहरूमा प्रोटिन पाइन्छ। प्रोटिनले गर्भावस्थामा बच्चाको दाँत र हड्डी बन्ने प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ।

प्रोटिनको कमीले बच्चाको दाँत ढिलो उम्रने, दाँतहरु कमजोर हुने र मुखको हड्डीको विकास नहुने जस्ता समस्या आउँछन्। दाँतहरु बाङ्गाटिङ्गा हुन्छन्। जसको कारणले खानेकुरा अड्किने र सफा गर्न गार्हो हुनाले दाँतमा किरा लाग्ने र गिजा सम्बन्धी विभिन्न रोग लाग्ने हुन्छ। भिटामिनयुक्त खानेकुराहरु हरियो सागपात, फलफूल, दूधजन्य परिकार, माछामासु, अण्डा आदिमा पाइन्छ।

भिटामिनले रोगसँग लड्ने, छाला स्वस्थ राख्ने, हड्डीको विकास गर्ने काम गर्दछ। भिटामिनको कमीले गिजा, जिब्रो र मुखमा घाउ आउने, गिजा सुन्निने, गिजाबाट रगत आउने, हड्डी खिइने र दाँत हल्लिने जस्ता समस्या आँउछन्। खनिज पदार्थमा विशेष गरी क्याल्सियम, आइरन र फ्लोराइड पाइन्छ। मुखको स्वास्थ्यका लागि खनिज पदार्थ आवश्यक हुन्छ। क्याल्सियमका स्रोतहरु दूधजन्य परिकार, हरियो सागपात हुन्।

क्याल्सियमले दाँत र हड्डीको विकास गर्छ। आइरनयुक्त खानामा कलेजो, अण्डाको पँहेलो भाग, हरियो सागपात पर्छन्। आइरनको कमी भएमा मुखमा घाउ आउने, जिब्रो सुन्निने, रातो हुने र पोल्ने, खानेकुराको स्वाद नआउने र खाँदा वा थुक निल्दा समेत गाह्रो हुने गर्दछ।

फ्लोराइडले दाँतमा एउटा पातलो तह बनाँउछ जसले दाँतलाई सड्नबाट बचाँउछ। फ्लोराइड पाइने स्रोतहरु पानी, चिया, समुद्रमा पाइने जीव र वनस्पति हुन्। खानपिनमा यी कुरालाई ध्यान दिनाले हाम्रो मुख र दाँत स्वस्थ रहन्छ। खानपिनमा लापरबाही गर्नाले मुखको स्वास्थ्यसँगसँगै सम्पूर्ण शरीरकै स्वास्थ्यमा असर पर्ने हुन्छ। तसर्थ स्वस्थ खाना खाऔँ, निरोगी जीवन बिताऔँ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *