सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।
मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।
भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उहाँको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यो पनि : कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने
कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।
भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफैँ वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिकरूपमा खुकुलो पारिएको थियो ।
सङ्क्रमणको जोखिम अझै कायम रहेकाले अनावश्यकरूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिकरूपमा पूजाअर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदिजस्ता गतिविधिलाई निरुत्साहित गरिएको छ । आर्थिक, सामाजिक र व्यावसायिक गतिविधि गर्दा होस् वा सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेछ । अन्यथा जरिवाना गरिने आदेशमा उल्लेख छ ।
Views: 0