पर्वत, १५ असोज – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली बँदेलको मासु सहित २ जना पक्राउ
सुनसरी, १५ असोज – इनरुवा नगरपालिका-४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, १५ असोज – कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-११ रानीपौवा बस्ने धादिङ रोरा गाउँपालिका-४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट करिब १ सय ६४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित सोही गाउँपालिका-५ बस्ने ३८ वर्षीय नईसाद अलि मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२७ प ३०८१ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु सहित फेला पारी मोटरसाइकल चालक मियालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
सुर्खेत, १५ असोज – गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ
बाँके, १५ असोज – बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११
महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Views: 0