काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सम्बद्ध नेपाल बुद्धिजीवी संगठनको केन्द्रीय संयोजकमा कृष्ण केसी र सहसंयोजकमा नीलकण्ठ तिवारी चयन भएका छन् ।सो संगठनको असोज १८ गते सम्पन्न राष्ट्रिय भेलाले राष्ट्रिय सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । संगठनसम्बद्ध स्रोतका अनुसार सो संगठनले आगामी पौष ८ र ९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले एक विशेष समिति थप गर्ने प्रस्तावसहित निर्वाचन आयोगको प्रमुखमा अधिवक्ता उपेन्द्र पौडेल, लेखा परीक्षण आयोगको प्रमुखमा मित्र शर्मा र अनुशासन आयोगको प्रमुखमा टेकबहादुर थापा चयन गरेको छ ।
थप संगठकहरुलाई समेट्दै राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको सो भेलामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा, बुद्धिजीवी संगठनका फ्याक्सन इन्चार्ज दीनानाथ शर्मा, केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, सो संगठनका पूर्व अध्यक्षहरु शुरेस आले मगर, खिमलाल देवकोटा र नरेश भण्डारीले समसामयिक राजनीति तथा बुद्धिजीवीका अभिभाराका बारेमा प्रशिक्षणमुलक मन्तव्यसहित शुभकामना दिएका थिए । कल्पना शर्माद्वारा स्वागत मन्तव्य तथा जीतबहादुर रानाद्वारा धन्यवाद ज्ञापन गरिएको सो भेलामा लक्ष्मीप्रसाद पण्डितले विधान, भिमसेन गौतमले आर्थिक प्रतिवेदन र कृष्णराज केसीले राजनैतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिवालय तथा आयोजक समिति क्रमशः विस्तार गर्दै संगठनलाई चुस्त र शसक्त बनाउने धारणासहित सो संगठनका फ्याक्सन इन्चार्ज दीनानाथ शर्माले राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म पुग्न निर्देशन दिएका थिए । सो संगठनका सल्लाहकार डा. चन्द्रकान्त पौडेलले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए भने कर्णाली इन्चार्ज जीतबहादुर रानाले धन्यवाद ज्ञापन गरेका थिए ।
Views: 0