काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रक्सी उद्योग बन्द होला कि भनेर चिन्ता नगर्न पत्रकारलाई आग्रह गरेका छन् ।
पार्टीको समाजवादी प्रेस संगठनको घोषणासभाको उद्घाटन गर्दै नेपालले पत्रकारलाई रक्सी नखान सुझाव दिए । रक्सीले सम्पत्तिको स्वाहा हुनेमात्र नभई मानिसको स्वास्थ्यमा पनि असर पर्ने भएकाले रक्सी सेवन गर्न नहुने उनको भनाई थियो । रक्सीले समाजलाई विकृतितर्फ धकेलेको भन्दै उनले रक्सीका कारण परिवारमा पनि समस्या आउने गरेको र अन्तिममा गएर जीवन नै खतरापूर्ण बन्ने गरेको बताए ।
उनले कोहीकोही मानिसहरु बिहान उज्यालो भएदेखि राती १२ बजेसम्म नै रक्सी खाइरहने प्रसंग कोट्याउँदै उनले पत्रकारलाई यो विषयमा सचेत रहन आग्रह गरे । उनले हामीहरुले रक्सी खाएनौं भन्ने रक्सी उद्योग नै बन्द होला कि भनेर चिन्ता नगर्न पत्रकारलाई आग्रह गरे ।
उनले त्यो चिन्ता लिने काम पत्रकारको नभएको पनि बताए । नेपालले समाजलाई सही दिशामा अघि बढाउन सञ्चारजगतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आफूहरुले धेरै राम्रो काम गरेको भए पनि कहिलेकाहीँ समाचारमा नआउने भएकाले त्यसतर्फ पत्रकारको कलम चल्नुपर्नेमा जोड दिए ।
नेपालले पत्रकारलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउन र थप सक्षम बनाउन पार्टीले पनि पहल गर्ने स्पष्ट पारे । उनले समाजवादी प्रेस संगठनलाई पनि पत्रकारको क्षमता र दक्षता वृद्धिमा गम्भीर बन्न आग्रह गरे । शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।
Views: 0