७ फागुन, काठमाडौं । भनिन्छ, कलाकारहरू कला सिर्जनामा स्वतन्त्र हुन्छन् । तर ती स्वतन्त्र कलाकारले नारायण भगवानको पेन्टिङ बनाउँदा रक्त वर्णको बनाइदिए भने त्यसले के अर्थ बोक्ला ? जुन देख्दा आकर्षक र कलात्मक त देखिएला तर त्यसको गलत अर्थ लाग्न सक्छ । साथै, एउटा कलामा पारंगत कलाकारले पनि त्यसलाई चिन्न सक्दैनन् । सिंगो मूर्ति कलात्मक हुँदाहुँदै पनि त्यो कला अर्थहीन बन्न पुग्छ ।
यही चुनौती हुन्छ शास्त्रीय कला साधनामा । यसमा केवल क्यानभासमा चित्र कोर्ने अभ्यास र कोरा कल्पनाबाट जुटेको सिर्जनाले मात्रै कला पूर्ण हुँदैन । सबैभन्दा धेरै शास्त्रीय मान्यता हुन्छ, रुपमण्डन र विष्णुधर्माेत्तर पुराणको प्रतिमा लक्षणको विधान अनुसार हुबहु बनाउनुपर्ने हुन्छ । त्यसैले सामान्य देखिंदादेखिंदै पनि यो विशेष, संवेदनशील र कठिन छ ।
ठमेलस्थित काठमाडौं गेस्ट हाउसको भवनभित्र अवस्थित नेपाली कला संग्रहालयभित्र यस्तै विशेष चित्रहरूले भरिएको प्रदर्शनी चलिरहेको छ । जसमा प्रख्यात कलाकार समुद्रमान सिंह श्रेष्ठको अनुपम कीर्तिहरु सजिएका छन् । त्यही एउटा संग्रहालयभित्र धर्मशास्त्रको एउटा शाखा लुकेको छ । त्यहींभित्र श्रेष्ठले जीवनको विभिन्न कालखण्डमा सिर्जना गरेका कलालाई सजाइएको छ ।
डेढ दर्जन पेन्टिङ र स्केचसहित झण्डै चार दर्जन कला समेटिएको उनको प्रदर्शनीको अन्तिम-अन्तिमतिर एउटा भैरव कुमारीको पेन्टिङ छ । त्यसलाई देखाउँदै श्रेष्ठ भन्छन् ‘यो पेन्टिङ पूरा गर्न मलाई दुई वर्ष लाग्यो ।’ त्यसको लागि उनले छुट्टै साधना गर्नुपरेको सुनाउँछन् ।
Views: 0