वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ।

“देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो।

समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन्। घोषणापत्र मूलत: ७ वटा बुँदाहरूमा केन्द्रीत हुनेछ: १) भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह २) सुलभ, व्यवस्थित, विद्युतीय यातायात ३) नेवा: कला-संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण (renaissance) ४) खुला क्षेत्रको संरक्षण र विस्तार ५) नदी-नालाको सफाई र पुनर्स्थापना ६) सफा र व्यवस्थित काठमाडौँ, र, ७) गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।

“विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना “इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध” महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने” विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।

बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघिय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन्।

विवेकशील साझा पार्टी सम्पूर्ण महानगरवासीलाई यस पटक “एक मौका” हामीलाई दिन विनम्र आग्रह गर्दछ। साथै, देश-विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि हामी, सकेको नैतिक, भौतिक र आर्थिक सहयोग गर्न अपिल गर्दछौँ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी

मिति: २८ चैत २०७८

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *