कात्तिक १३, कास्की। नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेकमा आयोजना हुने वल्र्डकपको तयारी तीव्र रूपमा अगाडि बढेको छ ।
प्रतियोगिताको आयोजकमा स्याङ्जा जिल्लाका ११ ओटै स्थानीय तह, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेञ्चर क्लब रहेका छन् । पोखरा महानगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङ्जाको भीरकोटमा आयोजना गरिएको हो । वल्र्डकप गर्न प्याराग्लाइडिङ उडान (टेकअफ)का लागि कम्तीमा ४० वाई ४० मिटर र अवतरण (ल्याण्डिङ) का लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएकाले उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसकेको र पोखराको विल्कपमा स्याङ्जाको भीरकोट छानिएको हो ।
बिहीवारदेखि शुरू हुने नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकपको सम्पूर्ण तयारी लगभग पूरा भएको आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘खेल धेरै विधाहरूमा हुनेछ,’ उनले भने, ‘पुरुष र महिला एकल र सामूहिक गरी प्याराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलाको टीम तथा व्यक्तिगत एक्युरेसी गरी चार स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।’
४ दिनसम्म हुने एक्युरेसी प्याराग्लाइडिङमा स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका–११ को डौवाफाँटमा अवतरण गर्ने गरी तयारी भइरहेको छ ।
स्वर्ण, रजत र कास्य गरी ४० पदक र चारओटा वल्र्डकप ट्रफीका लागि महिला एवम् पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन आवेदन दिएकामध्ये छनोट गरेर मात्रै प्रतियोगितामा सहभागी गराइने बाबु एडभेञ्जर क्लबका सानुबाबु सुनारले बताए । ‘प्रतियोगिता हुने क्षेत्रमा हवाईमार्ग नपर्नु अर्को राम्रो पक्ष हो,’ सुनारले भने, ‘यहाँको मौसम ११ महीना राम्रोसँग उडान गर्न सकिने र हावाको बहावसँगै मनमोहक हिमाल राम्रोसँग देखिने भएकाले यो स्थान प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य हुने अपेक्षा गरेको छु ।’
‘स्याङ्जामा पहिलोपटक प्याराग्लाइडिङको विश्वकप गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो,’ जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवम् प्रतियोगिता मुख्य समन्वय समिति संयोजक सीता सुन्दासले भनिन्, ‘प्रतियोगितालाई सफल पार्न हामीले जिल्लाका ११ ओटै स्थानीय तहसँग समन्वय गरी तयारी तीव्र पारेका छौं ।’
प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिङ्गापुर, इण्डोनेशिया, मलेशिया, मङ्गोलिया, भारत र पाकिस्तानलगायत ३० देशका खेलाडी सहभागी हुनेछन् । सो प्रतियोगितामा १ सय ५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले १ हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय यूरो, स्वर्ण पदक र मेडलसहित प्रमाणपत्र पाउनेछन् । समूहगत प्रथम हुनेले १५ सय यूरो, द्वितीयले १२ सय र तृतीयले ७ सय यूरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक हात पार्नेछन् ।
प्रतियोगी खेलाडीहरू एउटै घेरामा ६ पटक खस्नुपर्नेछ । आकाशमा उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुला ठाउँमा एउटा घेरा बनाइएको छ । हरेक खेलाडी आकाशमा ६ पटक उड्नुपर्नेछ । उनीहरूले ६ पटक नै उक्त घेराभित्र प्याराग्लाइडिङ ल्याण्ड गर्नुपर्नेछ ।-अभियान
Views: 0