काठमाडौँ, १७ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ मा समाजसेवी एवम् चर्चित खेलाडी अरुण थापा क्षेत्रीसहित एक दर्जन युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको पूर्वसन्ध्यामा समाजसेवी क्षेत्रीसहित एक दर्जन युवाहरु नेकपा (एमाले) परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका थापासहितका युवालाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खादा र माला लगाएर पार्टी प्रवेश गराउनुभएको हो । पार्टी प्रवेशको कार्यक्रम समाजसेवी आनन्द त्रिपाठीले व्यवस्था मिलाउनुभएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसको तर्फबाट रामप्रसाद न्यौपाने वडा अध्यक्षको उम्मेद्धार हुनुहुन्छ । उहाँ सोही वडाको काँग्रेसको वडा सभापति समेत हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।
उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त वडामा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।
Views: 0