काठमाडौं, ९ जेठ – सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा
लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका-६ फापरबारी सानो कायर ठेगाना
भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका-६
लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।
दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते
कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार विष्णुमती
पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र
रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री
नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक
वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर
हत्या गरेको खुल्न आएको छ । हत्या पश्चात सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर
प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि
फालेको खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु
पठाइएको छ ।
Views: 0