खोटाङ, १० असार - आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका-५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह नगरपालिका-३ धोबिनी चोक बस्ने हरि भन्ने २९वर्षीय निर बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ बराहपोखरी गाउँपालिका-५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपीबसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दुधकोशीनदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।
उनी उपर कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।
Views: 0