बलत्कारपछि हत्या गरिएकी कंचनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालको आइसियूमा भर्ना गरेर उपचार थालिएको छ।
न्यायका लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार साँझ पन्तलाई काठमाडौं ल्याइएको थियो। हाल आइसियूमा राखेर मेडिसियन विभागका चिकित्सकहरूले उनको उपचार गरिरहेका छन्। यस अघि भनिएजस्तो उनमा हाल गम्भीर खालको मानसिक समस्या नरहेको तर उनीमा लामो समयदेखि धेरै तनावमा रहँदै आएकाले लामो समयसम्म तनाव लिँदा देखिने समस्या उनमा देखिएको त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा. सरोज ओझाले बताए।
धेरै तनावको कारणले सामान्य मानिसले भन्दा केही फरक व्यवहार देखिए पनि अहिले उनको व्यवहार सामान्य रहेको र आसियूयमा राखेर मेडिसिन बिभागसगँ आफूहरुले सहकार्य गरेर उपचार गरिरहेको समेत ओझाले बताए। उनले भने ‘उहाँको अहिलेकै अवस्थालाई मानसिक समस्या भन्न मिल्दैन तर लामो समय सम्म तनाव लिदाँ देखिने समस्या चाहि उहाँमा देखिएको छ। हाल मेडिसिन विभाग र हामीले सहकार्य गरेर हेरिरहेका छौं केही ल्याब रिपोर्ट आएपछि मात्रै उहाँलाई के भएको भन्ने थाहा हुन्छ।’ कंचनपुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि छोरीको न्यायका लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं जान सल्लाह दिएका थिए। लामो समयदेखि धर्नामा बस्दा अस्वाभाविक व्यवहार देखाउँदै छोरीका लागि बिलौना गर्ने, धर्नास्थलतबाट उठेर हिँड्ने, जथाभावी गाली गर्ने जस्ता समस्या देखिएको थियो।
साउन १० गते साथीको कोठामा होमवर्क गर्न गएकी निर्मलाको ११ गते घर नजिक उखुबारीमा शव भेटिएको थियो। निर्मलाको हत्या भएको चार महिना बित्न लाग्दा पनि हत्याराको पत्ता लाग्न सकेको छैन। अपराधी पहिचानका लागि अहिलेसम्म आधा दर्जनभन्दा बढीको डिएनए परीक्षण भइसकेको छ भने प्रमाण नष्ट गरेको आरोपमा प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले कंचनपुरका तत्कालीन प्रहरी निरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ।
थाहा खबरबाट साभार
Views: 0