यी हुन् फर्सीमा पाइने पोषक तत्व: हेर्नुहोस के-के फाइदा गर्छ

२०७५ मंसिर १०, सोमबार १४:२९ गते २०७५ मंसिर १०, सोमबार १४:२९ गते २०७५ मंसिर १०, सोमबार १४:२९ गते

नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ।

फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ। विभिन्न अनुसन्धानबाट बिटा  क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ।

अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो। दीर्घ रोगहरु (जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि) लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ। शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक छ तरकारी हो।

क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ। यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ (जुन शरीरका लागि हानिकारक हुन्छन्)  लाई बढन दिँदैन।

यस्तै, फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो। यसमा प्रसस्त मात्रामा जिङ्क पनि पाइन्छ। जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ। जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ।

यसैगरी बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले हाम्रो मुटु स्वस्थ राख्न मद्दत गर्छ। अल्फा लिनोलेनिक एसिड हाम्रो शरीरभित्र गएर ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिणत हुन्छ। जुन हाम्रो मुटु, आँखा र छालालाई स्वस्थ राख्न अत्यावश्यक छ।

फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ। सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ। साथै, सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउने विभिन्न अध्ययनले देखाएका छन्।फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकाशमा मद्दत गर्छ।

माथि भनिएका पोषक तत्वसँगै फर्सीको बियाँमा म्यान्गनिज, कप्पर, सेलेनियम, भिटामिन बि, क्याल्सियम पनि पाइन्छ। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियामा बाधा पुर्‍याउने भएकाले दिनहुँजसो खाँदा भिजाएर खानु बढी लाभदायक हुन्छ।

फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुरा हो। फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ। फर्सीको मुन्टामा प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ। नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *