अब विदेश जाने श्रम स्वीकृतिका लागि टोकन प्रणाली

२०७५ मंसिर १२, बुधबार २०:३३ गते २०७५ मंसिर १२, बुधबार २०:३३ गते २०७५ मंसिर १२, बुधबार २०:३३ गते

अब विदेश जाने श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौँ, १२ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ ।

यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधरमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । दैनिक ९०० लाई टोकन वितरण गर्ने गरी सफ्टवेयरको विकास गरिएको छ ।

प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताउनुभयो । उहाँले सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत आग्रह गर्नुभयो । प्रमुख खतिवडाले भन्नुभयो, “सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९०० लाई नै सेवा प्रदान गर्न सक्छौँ । यसबाट सेवाग्राही भोक, निन्द्रा नभनी लाइनमा बस्न आउनु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन सक्छौँ ।”

कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ । अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ । कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले जानकारी दिनुभयो । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप ह्वात्तै बढेको छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *