काठमाडौँ – शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।
वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोेगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ । शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यस्ता खानेकुरा खाएर प्रभावित भएका बिरामी हरेक दिन अस्पताल आउने गरेको बताउँछन्।
गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने उनी बताउँछन्। गर्मीमा देखिने झाडाबान्ताका बिरामी अस्पताल आउने सङ्ख्यामा पनि वृद्धि हुन थालेको बताए । गत वर्ष यही समयमा फ्लुको सङ्क्रमण बढेको भन्दै उनले धुलोधुवाँ, भीडभाडबाट बच्न पनि आग्रह गरे। डा. पुनका अनुसार खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ ।
यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।
source:tajakhabar
Views: 0