बिरालोले किन लुकाउँछ आफ्नो विष्टा ? पढ्नुहोस लोककथा

२०७५ मंसिर १४, शुक्रबार १७:१४ गते २०७५ मंसिर १४, शुक्रबार १७:१४ गते २०७५ मंसिर १४, शुक्रबार १७:१४ गते

धेरै वर्ष अगाडिको कुरा हो । एउटा घना जङ्गलमा अनेक थरीका जनावरहरु रमाइलो जीवन बिताइरहेका थिए ।

जङ्गलको लगभग बीच भागमा कडा चट्टानको एउटा सानो पहाड पसारिएको थियो । जङ्गलको उत्तरपट्टि मानवबस्ती, पश्चिम, पूर्व र दक्षिण तीनतिरको सिमानालाई छोएर एउटा ठूलो नदी बग्थ्यो । निस्फिक्रीका साथ जङ्गल घुम्ने, नदी किनारको बालुवामा खेल्ने, पानी पिउने इत्यादि गरेपछि बेलुकीपख सबै जनावरहरु आ–आफ्नो ओडारमा बास बस्न चट्टानको पहाडमा आइपुग्थे ।

सयौं संख्यामा रहेका विभिन्न जातका जनावरहरुको गुरु भने एउटा सुनौलो रङ्गको बिरालो थियो । घुम्दावर्दा कसरी होश राख्ने, शत्रुको आक्रमणको कसरी सामना गर्ने, कुन बेला जङ्गलको कुन क्षेत्रतिर जाने अथवा नजाने, यावत् कुराहरु उसैले निर्देशन दिन्थ्यो । बाँदरहरुलाई छिटो–छरितोसँग दगुर्न, मृगहरुलाई उफ्रन, जरायोहरुलाई शत्रु तह लगाउने जस्ता धेरै कुरा, धेरैलाई बिरालोले क्रमशः सिकाउँदै थियो । उसलाई सबैले सम्मान–कदर गर्दथे ।

त्यस जङ्गलमा रहने यौटा बाघ भने निकै रिसाहा र घमण्डी थियो । ऊ आफूलाई धेरै बलियो र बहादुर ठान्थ्यो । यस हिसाबले उसलाई बिरालो गुरु भएकोमा चित्त बुझेको थिएन । तर ऊ खुलेर विरोध गर्न पनि सक्तैनथ्यो । “पहिला त बिरालोबाट सबै कुराहरु सिकुँ, अनि देखा जाला” ऊ यस्तै कुरा सोच्थ्यो । अरु जनावरहरुले भन्दा बढ्ता सीप आफूले छिट्टै सिकेर पछि सबैको राजा बन्ने उसको दाउ थियो ।

सिकाउने क्रममा बाघलाई पनि बिरालोले सबै थोक सिकायो । तर बाघको हठी व्यवहारले बिरालोको मनमा शंका पस्यो, “कतै यसले मलाई नै त सिध्याउँदैन ?” रुख चढ्न सिकाउनु बाँकी नै थियो । “यसरी चढ्नुपर्छ” भन्दै बिरालो फुत्तफुत्त चढ्यो । बाघ भुइँबाट हेरिरह्यो र भन्यो –“अब कसरी झर्ने, त्यो पनि झट्टै सिकाउनुहोस् ।” त्यसैबीच बिरालोलाई के विचार आयो, “सिकाउँदै सिकाउँदिन” भन्दै सानो हाँगामा सुतिरह्यो । बाघ रिसले गज्र्यो, बिरालोको छायाँ परेको भुइँमा चिथोर्यो । हेर्दाहेर्दै बिरालो अर्को हाँगामा फुत्त गयो । बाघ उफ्र्योे, धेरैबेर उफ्रिरह्यो । केही चलेन, लखतरान भयो र त्यहाँबाट हिँड्नुअघि बिरालोतिर फर्केर भन्यो– “तैँले मलाई हेला गरिस्, अबदेखि म तँलाई त के, तेरो बिष्टाको पनि खेदो गर्छु ।”

त्यही बेला बिरालो जङ्गलबाट उत्तरतिरको मानव बस्तीमा पस्यो र त्यतैतिर बस्यो । तर उसलाई बाघको डर लागिरह्यो । त्यही डरका कारण आजभोलि पनि बिरालोले आफ्नो विष्टा लुकाउने गरेको हो भन्ने गरिन्छ । र, अर्को कुरा, कथंकदाचित् बाघले बिरालो भेट्यो र मार्यो भने पनि आफ्नो गुरु भएकोले बिरालोलाई खान चैँ खाँदैन रे ।

-१२ खरिबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *