“महिनावारी : विश्रामको लागि समय छैन, महिनावारीका समयमा हरेक नेपाली किशोरी अघि बढ्न सुनिश्चित गरौं’ अवधारणामा महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी परामर्श कार्यशाला हुने भएको छ । डिसेम्बर ११ मा काठमाडौंको होटल याक एण्ड यतिमा महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एम.एच.एम.पी.अलायन्स) र जी.आई.जेड.को सहयोगमा कार्यशाला आयोजना हुने भएको हो ।
‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाई सामग्री जुटाउन नसक्ने नेपालका धेरै समुदाय, न्यून आम्दानी हुने समूह र विद्यालय पढ्ने किशोरीहरु यस्ता समस्या आउने गरेको छ । नेपालमा महिला तथा किशोरीहरुले महिनावारीको समयमा सफा पानी, सुरक्षित र लैंगिक चर्पीको अभाव, लज्जा र असहजता लगायतका थुप्रेै समस्याहरु भोग्नु परेको छ । स्वास्थ्य र अधिकारका मुद्दाहरुमा लिइनुपर्ने तथ्यमा आधारित बहुक्षेत्रगत साझेदारीका विषय तय गर्ने उक्त कार्यशालाको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यशालामा पाँचवटा प्राविधिक समूहहरुमा विभाजन गरि कार्यपत्र प्रस्तुत हुनेछ । ती समूहहरुमा शिक्षा, जनचेतना तथा सिकाई, नीति तथा पैरवी, आविष्कार–नवीनता र दीगोपना, अनुसन्धान तथा विश्लेषण र पानी, सरसफाई तथा महिनावारी स्वास्थ्य व्यवस्थापनमा केन्द्रीत हुनेछन् ।
हरेक किशोरी महिनावारीको समयमा सरसफाई सामग्रीको अभावबिना स्वस्थ रहन सकुन् र त्यसका लागि पहिलोपटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाईमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्ने उद्देश्य यस कार्यशालाको विज्ञप्तिमा उल्लेख छ ।
परामर्श कार्यशालामा सन् २०१९–२०२० मा यस क्षेत्रमा अवलम्बन गरिने प्रमुख पक्षहरु, निश्चित गतिविधिहरु, सुझाव र पाँच प्राविधिक समूहहरु र प्रमुख मन्त्रालयहरु (खानेपानी, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रबिधि र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) समेतका प्रतिज्ञाहरु समेटिएको ‘काठमाडौं कार्ययोजना’ प्रस्तुत गर्नु रहेको बताइएको छ । सो कार्यशालामा ३ सय ५० जना विज्ञ, नीति निर्माता, अभ्यासकर्ता, अनुसन्धानकर्ता, किशोर तथा युवा र सञ्चार प्रतिनिधिहरुबीच महिनावारी स्वास्थ्य व्यवस्थापनका विषयमा छलफल हुने छ । -१२ खरी
Views: 0