ओमप्रकाश गुप्ता
गढवा २ जेठ । स्थानीय तहमा आईपर्ने विपद जोखिम न्यूनिकरण, उद्धार र राहतका लागी अब स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी महत्वपुर्ण रहने भएको बुधवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रममा बताईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको समुदाय उत्थानशिलतामा अभिबृद्धि कार्यक्रमको आयोजनामा देउखुरीको लमहीमा भएको गढवा र राजपुरका जनप्रतिनिधीहरु र रेडक्रस उपशाखासंग गरिएको एक दिने कार्यशालामा नेपाल सरकारले यस्तो नियम लागुगर्न थालेको जानकारी गराईएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ मा ब्यवस्था भए बमोजिम विपद ब्यवस्थापनमा सरकारका निति कार्यक्रम स्थानीय तहसम्म कार्यान्वयनको चरणमा रहेको कार्यक्रममा जानकारी गराईएको थियो । जस अनुसार स्थानीय तह गाउँ नगर र उप–महानगरपालीकाका प्रमुख उपप्रमुखको नेतृत्वमा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन–२०७४ बमोजिम स्थानीय तहमा रेडक्रस, सुरक्षानिकाय, उद्योग वाणीज्य संघ लगायतको उपस्थितिमा विपद् ब्यवस्थापन समिति बनाई काम गर्नुपर्ने बताईएको छ । जसअनुसार स्थानीय तहमा विपदको पहिचान गरी संकटासन्न क्षेत्र र समुदायमा विपद जोखिमको सुचना प्रविधीलाई प्रभावकारी बनाई स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्नेगरी योजना निर्माण, अपतकालीन कोषको स्थापना र कार्यन्वयनको प्रकृयालाई प्रभावकारी बनाईने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको उध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली र राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसी लगायतले स्थानीय तहमा केन्द्रको निर्देशन बमोजिम योजना बनाई विपद जोखिम न्यूनिकरणका क्षेत्रमा कामसुरु गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा नेपाल सरकारको नयाँ निती तथा कार्यक्रमका बारेमा नेपाल रेडक्रस सोसाईटी अन्र्तराष्ट्रिय सहासंघका सदस्य कृष्ण केसी र ईन्कोर कार्यक्रम नेपालका संयोजक दोलखबहादुर डाँगीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गढवा र राजपुर गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु तथा रेडक्रस जिल्ला र उपशाखाका पदाधिकारीको सहभागीता रहेको थियो । जिल्लाशाखा दाङका मन्त्री मदन गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यशालाको सञ्चालन रेडक्रस दाङका ईन्कोर कार्यक्रम अधिकृत जगत तामाङले गरेका थिए ।
Views: 0