पर्यटकको आकर्षणको माध्यम बनेको पाल्पाका गोलघर अर्थात कुँडुले घरहरु हराउँदैसुमन कार्की,
पाल्पा, ९ असोज । कुनै समय पाल्पाका अधिकांश गाउँमा परम्परागत गोलघर अर्थात कुँडुले घर प्रशस्तै देखिन्थ्यो जुन वाह्य प्रर्यटकका लागि मुख्य आर्कषकको केन्द्र विन्दु मानिन्थ्यो । आधुनिकता र विकाससंगसंगै लोप हुन थालेपछि गाउँका गोलो घरहरु हिजोआज हराउदै गएका छन् ।
पाल्पाको निस्दी, रामपुर, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा यस्ता कुँडुले घरहरु आजभोलि कमै मात्रामा भेटिन्छन् । बढ्दो आधुनिकताले त्यस्ता पुराना घरहरु हराउदै गएका हुन् । गर्मीयाममा चिसो, चिसो मौसममा तातो हुने त्यस्ता घरहरु आजभोलि निस्दी गाँउ पालिकाको खादरमा मात्र भेटिन्छ ।
जिल्लाकै मुख्य पर्यटकीय आकर्षकको रुपमा रहेको झिरुबासको परम्परागत घरहरु आधुनिक घरले विस्तापित हुँदै गएको हो । नयाँ युवापुस्ताले कुँडुले घरलाई मन नपराउँदा लोप भएको स्थानीयवासी खेमबहादुर खाम्चाको भनाई छ । गोलो घरमा न्यानो हुने भए पनि कुँडुले घर बनाउन कच्चा पदार्थको अभाव, खरको छाना हाल्न झन्झटिलो र खर्चिलो हुने हुँदा युवा पुस्ता आधुनिक घर तर्फ आकर्षित भएका हुन् । गाउँका केही व्यक्तिहरुले भने परम्परागत घर नभत्काई अर्कै ठाउँमा घर निर्माण गरेका छन् ।
गोलो नयाँ घर भने बन्न सकेको छैनन् । उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गरेको झिरुवासको कवुलयति वनसंगै खादरमा परम्परागत कुँडुले घर पर्यटकको मन लोभ्याउन सफल भएका छन् । खरका छाना, एउटा ढोका, एकतले घुमाउरा घरहरू आकर्षक भएकाले पर्यटकहरू लोभिने गरेका हुन् । गोलो घर हराउँदै जाँदा परम्परागत घरहरु पछिल्ला पुस्ताले नदेख्ने हुन् कि भन्ने चिन्ता स्थानीयलाई सताउन पनि थालेको छ ।
news24nepal
Views: 2