छक्का पञ्जा ३ : गम्भीर सन्देश दिने हल्काफुल्का चलचित्र

२०७५ आश्विन २८, आईतवार १५:३७ गते २०७५ आश्विन २८, आईतवार १५:३७ गते २०७५ आश्विन २८, आईतवार १५:३७ गते

यस वर्षको भदौसम्म सुक्खा रहेको नेपाली चलचित्रको बजार अहिले फेरि भरिलो भएको छ । खडेरी लागेको चलचित्रको व्यापारमा भदौ र असोजमा प्रदर्शनमा आएका चलचित्र ‘नाइँ नभन्नु ल ५’, ‘रामकहानी’, ‘इन्टु मिन्टु लन्डनमा’को व्यापारले पुनः आशा थपेका छन् ।

हाल प्रदर्शनरत चलचित्र छक्का पञ्जा ३ हेर्न पनि दर्शकको भिड देखिन्छ ।

छक्कापञ्जा भन्नेबित्तिकै आस्य चलचित्र हो भन्ने थाहा भइहाल्छ । छक्कापञ्जाका विगतका सिरिज त्यस्तै भएर यसो भनिनु स्वाभाविक पनि हो । तर छक्का पञ्जा ३ ले कमेडीलाई मात्र फोकस गरेको छैन । गम्भीर विषयलाई कमेडी शैलीमा पस्कन चलचित्र सफल देखिन्छ । शिक्षा क्षेत्र, त्यसमा पनि सरकारी विद्यालयमा हुने बेथिती, लाई चलचित्रले उदाङ्गो पारेको छ ।

यस्तो छ कथा :

कुनै प्रतिनिधि गाउँको एउटा सामुदायिक विद्यालय हो, खानीडाँडा माध्यमिक विद्यालय । यस विद्यालयमा शिक्षक छन् तर तिनीहरू राम्रो पढाउँदैनन् । भएका शिक्षकहरू जग्गा दलाल, जुवाडे र घुमन्ते फिरन्ते छन् ।

छोराको ठाउँमा बुवा नै स्कूलको खेताला शिक्षक समेत बन्न पछि पर्दैनन् । घरमा बिहे हुन्छ, भोज विद्यालयमा गरिन्छ । गाउँमा कुनै पाहुना आउनेदेखि अन्य कार्यक्रमहरू विद्यालयमै आयोजना हुँदा विद्यार्थीहरू राम्रो शिक्षाबाट वञ्चित छन् । प्राचार्य (शिवहरि पौडेल) विद्यालय सुध्रिनुपर्छ भन्ने पक्षमा छन् तर उनलाई कसैले टेर्दैनन् । यस्तैयस्तै समस्याबाट गुज्रिएको छ यो विद्यालय ।

प्राचार्यकी छोरी उजेली (दीपिका प्रसाईं) को समाचारवाचिकाको जागिरलाई लत्याएर अस्ट्रेलिया जाने तयारी गरिरहेकी छन् । कागजात बनाउन एक महिने बिदा लिएर गाउँ आएकी उनी बुबाको विद्यालयको अवस्थाबाट आजित छिन् । विद्यालयका अध्यक्ष नीर शाह (काजी) र (शिशिर वाङ्देल) राजनीतिको लडाईंमा छन् ।

यस्तै अवस्थामा आफनो राजनीतिलाई बलियो बनाउन काजीले आफूलाई छोडेर गएकी श्रीमतीसँग भएको छोरो दीपकराज गिरी (राजा) लाई गाउँ बोलाउँछन् । यता प्रिन्सिपलकी छोरी उजेली विद्यालयमा देखिएको बेथितीविरुद्ध आवाज उठाउँछिन् । ती युवतीले उठाउने आवाजले चलचित्रमा नयाँ मोड लिन्छ । कथा कसरी अगाडि बढ्छ, त्यो जान्नका लागि भने चलचित्र नै हुर्नुपर्ने हुन्छ ।

राम्रो पक्ष :

यो चलचित्रको सफलता भनेकै गम्भीर मुद्दा उठाएर पनि दर्शकलाई हसाउनु हो । चलचित्रले शिक्षाक्षेत्रमा हुने राजनीति अनि सामुदायिक विद्यालयको दुरवस्थाको चित्रण गर्दै त्यसलाई रमाइलो तरिकाले व्यंग्य गरेको छ । खानीडाँडा माध्यमिक विद्यालयको प्रतिनिधित्व गराउँदै नेपालका धेरै सामुदायिक विद्यालयको अवस्था उदाङ्गो पार्न चलचित्र सफल भएको छ ।

समाजका लागि पुरानो विषय भएपनि शिक्षण र सरकारी विद्यालयलाई नजिकबाट नियाल्नेहरू यो समस्या महसूस गर्न सक्छन् ।

चलचित्रमा कलाकारहरूको ठूलो भीड छ । प्रियंका कार्की, संजोग कोइराला, स्वस्तिमा खड्कासँगै दीपाश्री निरौला पनि त्यही भीडमा अटाएका छन् । तर सबै कलाकारलाई सन्तुलनमा राख्न चलचित्रकी निर्देशक निरौला सफल देखिएकी छन् ।

संगीत, छायांकन, कलाकारको अभिनय र क्लाइमेक्सतिरका दृश्य स्वाभाविक छन् । निर्देशक निरौलाको निर्देशकीय पाटो अघिल्ला शृङ्खलाको भन्दा केही सुध्रेको देखिन्छ । यता लेखनको कोणबाट दीपकराज गिरीको मिहिनेत पनि राम्रै देखिएको छ । उनले पात्रहरूलाई सन्तुलन मिलाएर भूमिका देखेका छन् ।

कमजोर पक्ष :

गम्भीर कथामा चलचित्र निर्माण भएपनि दर्शक हँसाउन केही अनावश्यक दृश्यहरू थुपारिएका छन् । केही कमीकमजोरीहरू ख्याल गरिएका छैनन् । केही पात्रको अभिनय स्वभाविक लाग्दैन ।

प्रिन्सिपलको हाउभाउ, ग्रामीण भेगमा पनि जग्गा दलालीमा व्यस्त भइरहने थानेश्वर (जितु नेपाल)का केही कमेडी दृश्य अलि बढी नै कमेडी भद्दा लाग्छन् ।

निर्देशकको मूल ध्याउन्नै हँसाउने देखिँदा कतिपय दृश्य विश्वसनीय समेत लाग्दैनन् ।

चलचित्रको पहिलो गीतको सन्दर्भ मिलेको देखिँदैन । बढी कमेडी थुपारेर गम्भीर विषयवस्तुलाई हल्का बनाउने प्रयास गरिएको कताकति भान हुन्छ । छक्कापञ्जा शृंखला भन्नेबित्तिकै जसरी पनि हँसाइछाड्ने दर्शकको बुझाइ छ । जुन धङ्धङी तेस्रो सिरिजमा पनि निरन्तरता छ । तर त्यस्ता केही कमीकमजोरीका बीच चलचित्रले दिन खोजेको सन्देश राम्रैसँग पस्केको छ ।

चलचित्र : छक्का पञ्जा ३
निर्देशक : दीपाश्री निरौला
कलाकारहरू : दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सनविक्रम राई लगायत
विधा : कमेडी   -source_lokantaar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *