विदेशी जुसले यसरी बन्द भयो फ्रुटीको उत्पादन

२०७५ आश्विन २८, आईतवार १५:४५ गते २०७५ आश्विन २८, आईतवार १५:४५ गते २०७५ आश्विन २८, आईतवार १५:४५ गते

वीरगंज। वीरगंज–पथलैया औद्योगिक करिडोरमा पर्ने छातापिपरास्थित सनराइज बेभेरेज प्रालिले ‘फ्रुटी’ सफ्ट ड्रिङ्कको उत्पादन बन्द गरेको छ। विगत ७ वर्षदेखि उत्पादन गर्दै आएको फ्रुटीको उत्पादन उद्योगले तीन महिनादेखि बन्द गरेको हो।

बजारमा प्लाष्टिकको (पेट) बोटलमा उपलब्ध हुँदै आएको फ्रुटीले बंगलादेशी ब्रान्ड ‘प्रान’ सँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको हो। ‘सामान बनाएर खेर फाल्नुभन्दा उत्पादन नै नगर्ने सोचमा पुगेको हौं,’ सनराइजका सञ्चालक दिपक श्रेष्ठले भने, ‘बंगलादेशबाट आएको प्रानको जुस यहाँ स्वदेशी उत्पादनभन्दा सस्तो छ, आम सर्वसाधारणले सस्तो सामान नै किन्छन्।’

अहिले आयातित सामानसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने स्थिती रहेको तर सरकारको नीतिले यही अवस्थालाई प्रवर्द्धन गरिरहेको उनको गुनासो छ। भन्छन्, ‘सरकारको गलत नीतिका कारण उद्योग चलाउन असाध्यै समस्या भयो। विद्यमान नीतिले स्वदेशी इनर्जी तथा फलफुल जुस उत्पादन उद्योग धाराशायी हुन थालेका छन्।

फ्रुटी र बेली पानीको उत्पादन गर्दै आएको सनराइज बेभरेजले अहिले पानीको मात्र उत्पादन जारी राखेको छ।

उद्योगीहरुका अनुसार विदेशी प्रानको जुसको अगाडि सबै नेपाली जुस उद्योगको अवस्था नाजुक छ। इटहरीको ‘टेस्टी’ बन्द भइसकेको छ। नारायणघाटको ‘पल्पी’ पनि घिटिकघिटिक भएर चलिरहेको छ। यी मात्र नभएर ठूलो लगानीका फलफुल जुस ब्रान्डहरुको बजारलाई समेत प्रानले असर पारेको छ।

‘पेपर प्याकमा रहेको दुगडको फ्रुटी, सिजिको रियो र डाबरको रियल तथा ब्रस्ट सबैलाई चुनौती छ,’ श्रेष्ठले भने।

प्रानको सबैभन्दा बढि चल्ने प्रडक्ट लिची जुस हो। तर यसको प्याकेजिङभित्र केकस्तो गुणस्तरको सामग्री छ, त्यो स्वस्थकर र खाद्य/अखाद्य के छ भन्ने पनि नेपाली पक्षसँग जाँच्ने प्रविधि नरहेको स्वदेशी उद्योगीहरुको भनाइ छ। नेपाली उद्योगमा आवश्यकताभन्दा बढी निगरानी गर्ने सरकारले विदेशबाट आयातित इनर्जी तथा हलुका पेयको बजारप्रति लचिलो नीति लिँदा अप्ठ्यारो परेको उनीहरुको गुनासो छ।

‘विदेशी समान नेपालमा महँगोमा बेचिएन भने हामीले कसरी उद्योग चलाएर रोजगारी सिर्जना गर्ने,’ श्रेष्ठले प्रश्न गरे।
ऊर्जा तथा अन्यलागतका कारण जुस उत्पादन बंगलादेशको भन्दा नेपालमा तीन/चार गुणा बढी खर्चिलो हुने उद्योगीहरुको भनाइ छ। बंगलादेशबाट आउने प्रानको १६० एमएल जुस नेपालमा ९ सय ५० रुपैयाँ पर्छ भने डाबरको १ हजार पर्छ। बंगलादेशबाट ल्याउँदाको ढुवानी खर्च र भन्सारसमेत तिर्दा पनि स्वदेशीभन्दा सस्तो पर्छ। यसकारण पनि स्वदेशी हलुका पेय पदार्थ बजारमा बिक्री नभएर उद्योग बन्द गर्नु पर्ने अवस्था सृजना भएको हो।

पूर्वको काँकडभिट्टा नाकाबाट मात्रै प्रानको जुस एक अर्बको भित्रने गरेको छ। थाइल्यान्डबाट रेडबुलको इनर्जी ड्रिक्स वार्षिक करिब २४ लाख कार्टुन भित्रिन्छ।
वीरगंज भन्सारबाट मात्रै पछिल्लो साढे २ महिनामा दुई अर्ब ६० करोड रुपैयाँको मदिरा र ईनर्जी ड्रिङक्स भित्रिएको तथ्यांक छ, जसमा आधा इनर्जी ड्रिङक्स र जुस रहेको वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए।

उद्योगीहरुको भनाइमा एउटा जुस उद्योग स्थापना गर्न १५ देखि ५० करोड रुपैयाँसम्म लाग्छ। विद्यमान भन्सार महसुल तथा अन्तःशुल्क वृद्धि गरेर भए पनि सरकारले स्वदेशी उद्योगलाई जोगाउनु पर्ने उनीहरुको आग्रह छ। सरकारले यसतर्फ ध्यान नदिने हो भने स्वदेशी जुस उद्योगमा भएको अर्बौंको लगानी डुब्ने खतरा रहेको व्यवसायीको भनाई छ।

इनर्जी ड्रिंक्समा ३० प्रतिशत भन्सार महसुल र १५ प्रतिशत अन्तःशुल्क लाग्छ। जुसमा ३० प्रतिशत भन्सार महसुल, ७ देखि १० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। यसबाहेक सबै उत्पादनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *