बागलुङ : कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको महिनौं बितिसक्दा पनि सरकारले अपराधि पक्राउ नगरेपछि बागलुङका महिलाले सरकारको बिरोध गरेका छन्।
अाइतबार उनीहरूले तत्काल दोषी पत्ता लगाएर पक्राउ गर्न पनि माग गरेका छन्। मागस्वरुप उनीहरूले निर्मलाको न्यायका लागि भन्दै सडकमै सुतेका छन्। नेपाल महिला संघ र नेपाल ट्रेड युनियन कांग्रेसको आयाेजनामा भएको बिरोध कार्यक्रममा लोकतान्त्रिक चोकमा महिलाहरू सडकमै सुतेका हुन्।
‘बालिकाको बलात्कार र हत्या घटनामा समेत अपराधि पक्राउ नगर्ने सरकारले अरु समस्या समाधान कसरी गर्छ?’ महिला संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्,‘अबोध बालिकाको न्यायका लागि हामी सडकमा उत्रनु परेको हो।’ सरकार र प्रशासनको ध्यानाकर्षणका लागि सडकमै सुतेर आन्दोलन गरेको उनले बताइन्। यस्ता अपराधका घटना अन्तर्राष्ट्रिय करण भइरकेका बेलामा पनि राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्यत भएको शर्माको टिप्पणी थियो।
चिसो भुईमा सुतेका महिलाले निर्मला पन्तको फोटो सहितको व्यानर छातीमा टाँसेका थिए। सबै महिलाले टाउँकोमा कालोपट्टी समेत बाँधेर बिरोध गरेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरूले अपराधिलाई पक्राउ गर्न माग गरेका थिए।
‘अपराधिको जात, धर्म र पार्टी हुँदैन भनेर जान्दा जान्दै सरकार कार्यकर्ता झै संरक्षणमा उत्रेको छ’ संघकी सचिव उषा पौडेलले भनिन्, ‘कारवाहीको प्रक्रिया शुरु नभए अब आन्दोलनका अन्य कार्यक्रम चरणबद्ध रुपमा सार्वजनिक गरिने छ।’ उनीहरूको मागको समर्थनमा कांग्रेस सहितका अन्य राजनीतिक दलका नेता, पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता पनि सडकमै उत्रेका थिए। न्याय माग्दै सडकमा सुतेपछि सडकको आवागमन अबरुद्ध भएको थियो।
यात्रामा समस्या भएकालाई उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदा सर्वसाधारणले सास्ती खेपे पनि सामान्य रुपमा लिइदिन आग्रह पनि गरेका थिए। गत जनैपूर्णिमाको दिन बागलुङका एक युवक संगीन जिसीको काठमाडाैंको स्वयंभूमा हत्या भएको थियो। टाउको छिनालेर गरिएको हत्यामा प्रहरीले आत्महत्या भनेर अपराधि नखोजेपछि बागलुङका अधिकारकर्मीले पटक पटक आन्दोलन गरिरहेका छन्। संघले पनि जिसीको हत्यारा पत्ता लगाउन समेत माग गरेको छ।
त्यस्तै चारवर्ष अघि तीजको दिन बागलुङ नगरपालिका ४ मा दिउँसै हत्या गरिएकी यहाँकी रुपा गौतमको समेत हत्यारा पत्ता नलगाएकोमा प्रशासनको ध्यानाकर्षण गराएका थिए। माइत गएर फर्केकी गौतमको घाँटीमा खुकुरी प्रहारबाट हत्या भएको थियो। -थाहा खबर
Views: 0