राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ। तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन्।
सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।
‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन।’ गुरुङले आफ्नो घर भएको बताएका थिए।
संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भए÷नभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ।
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा काठमाडौं उपत्यकामा घर नहुने सांसदले मात्रै घरभाडा पाउँछन् । घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन्।
पुस ११ पछि सचिवालयले भराएको फाराममा उनले पनि आफ्नो काठमाडौंमा घर नभएको उल्लेख गरे । कान्तिपुरसँग कात्तिक ३० मा भने बाँसबारीमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् । उनले पनि कान्तिपुरसँग कात्तिक २९ मा भैंसेपाटीमा कान्छा छोराको नाममा रहेको घरमा बस्ने गरेको बताएकी थिइन्।
नियमअनुसार घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउँछन् । समिति सभापतिले भने २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा लिन्छन् । काठमाडौं उपत्यकामा घर हुने सांसदले पनि अझै घरभाडा लिइरहेका छन्। काठमाडौंमा घर हुने सांसदले समेत पुसमा अध्यावधिक गरेको विवरणमा घर नभएको भन्दै भाडा असुली गरेका हुन्।
नेकपाकी सांसद नविना लामाको पेप्सीकोलामा घर छ। सचिवालय विवरणमा घर नभएको भन्दै हस्ताक्षर गरेकी छन्। मंसिर ११ मा उनले भनेकी थिइन्, ‘पेप्सीकोलामा श्रीमानको नाममा घर छ।’ तर उनले पुसको तलबसँगै घरभाडा पनि लिएकी छन् । संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘श्रीमान् र माइतीको घरमा बसेर मेरो घर छैन भन्नुचाहिँ उपयुक्त होइन।’
अध्ययनअनुसार केही सांसद आफ्नो घर नभए पनि माइती वा ससुराली घरमा बस्छन् । भाडा तिर्दैनन् तर संसद् सचिवालयबाट भाडा लिन्छन्।
नेपाल खबर
Views: 0