मुगु । समाजमा न्याय र शान्ति स्थापनका लागी नेपाल प्रहरीको अहम भुमिका हुन्छ । तर पछिल्ला दिनहरुमा नेपालमा प्रहरी लगातार बद्नाम भइरहेको छ । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको दार्मा गाउँ रहेको बताइएको छ । पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साझँ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् ।
तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए । यसरी नेपाल प्रहरी नै बलात्कार गर्दै हिड्ने हो भने पिडितले न्यायका लागी कहाँ जाने स्थानीले आक्रोश पोखेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
Views: 0