१० वैशाख, बुटवल । नेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।
नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए ।
यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।
सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि हो । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् । न्यौपानेले आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराएका छन् ।न्यौपानेले आफ्नो राजीनामा ‘नयाँ साथीलाई अवसर दिने उद्देश्य’ले आएको दावी गर्दै सकारात्मक अर्थमा बुझिदिन अनलाइनखबरसँग आग्रह गरे ।एकताका क्रममा स्थानीय र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई समेत पार्टीको कार्यकारी जिम्मेवारी दिइएकोप्रति पार्टीका नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन् ।अनलाइनखबर
Views: 0