काठमाडौं, असार २४ । पछिल्लो समय फलफूल तथा तरकारीमा प्रयोग हुने विषादी, यसको मात्रा र परीक्षणलाई लिएर निकै चर्चा चल्दै आएको छ ।विषादी जाँच कसरी हुन्छ ? प्रविधि के छ ? यसबारे हामीले प्रयोगशालामा पुगेर जिज्ञासा राखेका छौं ।हाल ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी परीक्षणको काम काठमाडौं उपत्यकालगायत देशका विभिन्न ८ ठाउँहरुमा भइरहेको छ ।
कर्णाली प्रदेशमा कुनैपनि प्रयोगशाला छैन । बुटवलमा कर्मचारी अभावका कारण प्रयोगशाला बन्द रहेको केन्द्रीय प्रयोगशालाले जनाएको छ ।केन्द्रीय प्रयोगशालामात्रै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला रहेको छ ।कालीमाटी तरकारी बजारमा केन्द्रीय प्रयोगशालाअन्तर्गत्को बाली संरक्षणअन्तर्गत् रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमार्फत् हाल दुई जातका विषादीको जाँच गरिँदै आएको छ । भारतबाट काठमाडौंमा आइपुगेका तरकारीको जाँच गर्न भन्सारका नजिक रहेका नाकाहरुमा प्रयोगशालाको अभाव भएपछि काठमाडौंमा नै दैनिक १०० भन्दा बढी तरकारीको नमुना परीक्षण गरिएको थियो ।
इकाइमा हाल दैनिक १० देखि १५ जातका तरकारी संकलन गरी नमुना परीक्षण गर्ने गरिन्छ भने सोको नमुना रिपोर्ट कालीमाटी तरकरी तथा फलफूल विकास समितिलाई बुझाउने गरिएको इकाइले जनाएको छ ।विषादीको परीक्षणका लागि सर्वप्रथम तरकारीको नमुना छनोट गरिन्छ । त्यसपछि त्यसलाई काटेर ‘टेस्टट्युब’मा राखेर मेसिनमा राखी झोल बनाइन्छ अनि ‘स्पेक्टोफोटोमिटर’मा राखिन्छ ।त्यसपश्चात् परीक्षण मेसिनमा राखी परीक्षण गरिने बाली संरक्षणका वरिष्ठ बाली संरक्षक राजीवदास राजभण्डारी बताउँछन् ।यसरी राखिएपछि यस मेसिनले रुकावट दर पत्ता लगाउँछ । सो मेसिनले क्वारेन्टाइन दर ३५ भन्दा कम देखाएमा खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ सम्म भएमा चार वा पाँच दिनपछिमात्रै खान मिल्ने हुन्छ ।
४५ भन्दामाथि देखाएमा खान नहुने र नस्ट गर्नुपर्ने उनको भनाइ छ ।कालीमाटी तरकारी तथा फलफूल बजारमा रहेको यो इकाइमा ‘अर्गानो फस्फेट’ र ‘कार्बामेट’ नामक विषादीमात्रै परीक्षण गर्ने गरिएको उनले जानकारी दिए ।क्वारेन्टाइन परीक्षणअन्तर्गत् बाली तथा बिरुवामा लाग्ने रोगहरु नियन्त्रणका लागि जाँच गरिन्छ भने जीवनाशक प्रयोगशालाअन्तर्गत् कुनैपनि तरकारीजन्य वस्तुमा भएको विषादीको मात्रा पत्ता लगाउने गरिन्छ ।पछिल्लो समय भारतबाटमात्रै आयात हुने तरकारीमामात्रै नभइ नेपालमै पनि विषादीको मात्रा बढिरहेकाले कृषकहरुले विषादीको कम प्रयोग गर्नुपर्ने उनको सुझाव छ । किटनाशक विषादी प्रयोगशाला नहुँदा भारतबाट आएका ट्रकहरु नाकामै रोकिएपछि भने अहिले मन्त्रालयको सहयोगमा इकाइले विभिन्न क्षेत्रका कर्मचारीहरुलाई तालिमसमेत दिइरहेको जनाएको छ ।
Views: 0