कोरोना लहरले नेपाल थलिएको एक वर्षभन्दा बढी भयो । अहिले त्यो उग्र लहर केही मत्थर भएको छ । इतिहासमा सङ्क्रामक रोगहरुको महामारी हुँदा पनि यस्तो उतारचाडव हुने गरेको पाइन्छ । जस्तै, स्पेनिस फ्लु भाइरसको नामले परिचित सङ्क्रमणले सन् १९१८, १९१९ मा तीन लहरको सङ्क्रमण ल्याएको देखिन्छ जसमा दोस्रो लहर शक्तिशाली थियो । यद्यपि फ्लु र कोरोना दुई भिन्न भाइरस हुन् । युरोप र अमेरिकामा देखिएका कोरोनाको उतारचाडवलाई आधार मान्दा नेपालमा पनि दोस्रो लहरलाई नजर अन्दाज गर्न सकिँदैन । भारतमा केही मत्थर भएको कोरोना भाइरस फेरि केही हप्ताको अन्तरालमा तीव्र गतिमा उकालो लाग्दै गइरहेको छ अर्थात् कोरोनाको उतारचाडवको उदाहरण नेपालको ढोकै अगाडिको छिमेकी देश भारतमा नै देखिन सुरु भएको छ । गएको वर्षभरि देखिएको तर हाल मत्थर भएको कोरोनाको लहरको कारण नेपाल-भारत खुला सिमाना देखिन्छ । त्यसो हो भने, हालै भारतमा ह्वात्तै बढेको कोरोना सङ्क्रमितको सङ्ख्याले नेपालमा दोस्रो लहरको सङ्केत गरेकै हो त ?
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या केही दिनदेखि तीव्र गतिमा बढेका समाचार आइरहेका छन् । विशेषत: पछिल्लो एक महिना यता वर्ल्डमिटरको तथ्याङ्क केलाउँदा सङ्क्रमितको सङ्ख्या उकालो लागेको देखिन्छ । भारतका केही सहरमा विद्यालय तथा कलेज बन्द गरिएका र राति कर्फ्यु लगाएका सञ्चार माध्यमले प्रेषित गरिरहेका छन् र थप अरु ठाउँमा पनि लकडाउनको बहसले प्राथमिकता पाइरहेका छन् । कोरोनाको यो तीव्रताको कारण तथा थप ठाउँहरुमा फैलँदै जाला/नजाला भन्नेमा भारतीय वैज्ञानिकहरु स्पष्ट भइसकेको देखिँदैन । नेपालले भारतमा वृद्धि हुँदै गइरहेको कोरोना सङ्क्रमणको अवस्थालाई नजिकबाट नियाल्नु अनिवार्य हुनेछ । भारतमा एक पछि अर्को स्टेटमा कोरोना फैलँदै जाने र लकडाउन पनि हुँदै गएमा त्यहाँ काम गर्ने लाखौँ नेपाली आफ्नो देश फर्कनुपर्ने बाध्यता हुनसक्ने छ । हाल कोरोना सुस्ताएसँगै स्थापना गरिएका क्वरेन्टिनहरु लगभग बन्द भैसकेका वा बिर्सिसकेका छन् । अर्थात् भारतमा लकडाउन सुरु हुन् थाले फर्किएका नेपालीहरुलाई राख्ने क्वरेन्टिनको व्यवस्थापन कमजोर हुनेछ जसले गर्दा भारतबाट सुरु भएको नया लहरको तरङ्ग नेपालसम्म नआइपुग्ला भन्न सकिँदैन ।
Views: 0