माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई एमाले वरिष्ठ नेता माधव नेपालको भाषण मन परेको बताएका छन् ।
नेता नेपालले ओलीलाई ‘श्री ५ महाराजधिराज’ को संज्ञा दिएकामा प्रचण्डले खुसी व्यक्त गरेका हुन् ।
कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीलाई महाराजधिराज भनेकामा नेता नेपाललाई धन्यवादसमेत दिए ।
प्रचण्डले ओलीले आफूलाई राजा ठानेको आरोप लगाए । ओलीलाई उनले प्रतिगमनको नाइकेको संज्ञा दिए ।
‘माधवजीले हिजो महाराजाधिराजले हामीलाई आम माफी दिइबक्सेछ अब हामी खुसीले नाच्ने हो कि भनेर कस्तो मिठोसँग व्यङ्ग्य गर्नुभएछ’, प्रचण्डले भने, ‘उहाँले सटिक व्यङ्ग्य गर्नुभयो, मैले उहाँलाई धन्यवाद दिएँ ।’ प्रचण्डले शनिबार बिहान नेपाल निवास कोटेश्वरमा भेटेर ओलीलाई महाराजा भनेकामा धन्यवाद दिएका थिए ।
ओलीले शुक्रबार मात्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने माधव नेपालसहित पार्टीका २२ सांसदलाई आममाफी दिएको घोषणा गरेका थिए ।
यता दाहालले आफू करिब हप्तादिनदेखि मानसिक तनावमा रहेको बताएका छन् । पार्टीभित्र अहिले कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने ? भनेर हुलका हुल बाँधेर आफूकहाँ मान्छेहरु आएको टिप्पणी गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ ।
हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’
चार पाँच दिनदेखि आफू एक खालको मानसिक तनावभित्र रहेको पनि दाहालको भनाई छ । उनले भने,‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि । त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’सभार: onlinemarg
Views: 0