काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ । यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् ।
लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला उनीहरुको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए। उनलाई यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी एकता अभियानमा सक्रिय थिए। तर पार्टी विभाजन नरोकिएपछि माधव नेपाल समूहका सांसदहरुलाई नयाँ दलमा जान नदिन उनलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको एमाले नेताहरुको भनाइ छ।
ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको निकट स्रोतले जनाएको छ । पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । विभाजनले आधिकारिता पाएलगत्तै एमालेले संसदीय दलको नेता परिवर्तन गर्न दलको बैठक बोलाएको हो ।
एमाले प्रदेश-१को संसदीय दलको बैठकले माधव समूहमा लागेका सांसदलाई कारबाही गर्ने तयारी पनि गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेशमा मुख्यमन्त्री बन्न ४७ सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये एक सभामुख छन् भने एक सांसद फौजदारी अभियोग लागेपछि फ’रार छन् ।
माधव नेपाल समूहमा प्रदेश १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ। आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन्। त्यहीअनुसार आचार्यले सांसदहरुलाई फकाउँदै पनि आएका छन्।
‘मैले सबै मन्त्रीहरु हाम्रो टिमबाट बनाउने हो,’ आचार्यले नेपाल समूहकालाई फकाउने क्रममा सांसदहरुलाई उनले भन्ने गरेका छन्, ‘मन्त्रीमण्डल र संसदीय समितिहरुमा पनि व्यापक फेरबदल हुनेछ। पार्टी नछाडौं।’
तेस्रो प्रयासमा प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावनाको नजिकै पुगेका आचार्यका लागि सत्तारोहण सहज भने छैन। यदि नेपाल समूहले दाबी गरेअनुसारको सांसद संख्याले नयाँ पार्टी रोजेको खण्डमा उनको सरकारको आयु छोटो हुने निश्चित छ।सभार:ताजा खबर
Views: 0