काठमाडौ। पूर्वमन्त्री हृदेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्न लागेको खुलासा गरेका छन् । यो खुलासाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका शीर्ष नेताद्धय उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतलाई ठूलो झट्का लागेका छ।
केहि समय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघठन गरेर छिट्टै नै निर्वाचनमा जान लागेको सूचना चुहाएका पूर्व मन्त्री त्रिपाठीले नयाँ सरकार बन्न लागेको खुलासा गरेका हुन् । पूर्वमन्त्री हृदयेश त्रिपाठीले अब नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बन्न सक्ने राजनीतिक परिस्थिति बन्दै गएको बताएका हुन्
राजनीतिक द्वन्द्वले मुलुक ठूलो संवैधानिक दुर्घटनातिर जाने देखिएकाले दुई ठूला दल मिलेर जाने देखिएको उनको दाबी छ। आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ।
त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो । त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो। अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । तर देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन । वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि । जस्तोः एमसीसीकै विषयमा पनि गठबन्धन दलहरुबीच दरार आएको छ।
यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ । यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ ।’नेता त्रिपाठीले प्रधानमन्त्री देउवाको प्रचण्ड र माधवसँगको सम्बन्ध लामो समय नरहने संकेत गरे । उनले भने, ‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गएगुज्रेको छ । मन्त्रीको नाम दियो, पार्टी फुट्छ । सांसदहरुलाई मन्त्री दिने भनेर तानेका छन् ।
कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो । ऊ लामो समय सरकार चलाउन चाहँदैन। लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ । हामीले भौगोलिक पुनसंरचना गर्यौं, राज्यको पुनःसंरचना गर्न सकेनौं । त्यसले जो सरकारमा भए पनि अलोकप्रिय हुन्छ । तर देउवा चुनावमा जान चाहँदा प्रचण्ड, माधव नेपालहरु त्यसमा सहमत हुँदैनन् । त्यसैले अहिलेको समीकरण बदलिन सक्छ।’
नेता त्रिपाठीले देशको राजनीति यसरी नै लिकबाहिर जाने हो भने ठूलो संवैधानिक दुर्घटना हुन सक्न सक्ने पनि औंल्याए । उनले भने, ‘अहिले राजनीतिक दलहरुबीच तिक्तता र विभाजन अनि एकले अर्कोलाई स्वीकार नगर्ने असहिष्णु र प्रतिशोधको राजनीतिले संविधानमा असर गर्छ । चुनावपछि सुरु भएको यस्तो तिक्तताले पार्टीहरु विभाजन भए । संसद् चल्न नसक्ने स्थिति बन्यो ।
संविधान निर्माता पार्टीहरु नै संविधानको व्यवस्थाभन्दा पृथक दृष्टिकोण राख्छन्। माओवादी प्रत्यक्ष राष्ट्रपति भन्छ, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्छ । अनुहार फोहोर छ, ऐना पुछेर हुँदैन । अब मूल प्रणालीमै प्रश्न आयो । मैले तपाईंसँग प्राइम टेलिभिजनमा धेरै पहिले भने नेकपा विभाजन भयो भने संविधानमा समस्या आउन सक्छ भनेको थिएँ । देश त्यतैतिर गइरहेको छ।’
उनले एमसीसीमा दलहरुले दोहोरो मापदण्ड अपनाएको बताए । उनले थपे, ‘सत्तामा हुँदा सबैले एमसीसीलाई अघि बढाएका हुन । यो विकास अनुदान हो । हामीलाई थाहा छ, तत्कालीन नेकपा एमालेले गरेको गल्तीका कारण अरुण तेस्रोबाट वञ्चित भयौं । यो अनमोदनको विषय थियो कि थिएन भन्दा पनि तत्कालीन अर्थमन्त्रीको मूर्खतापूर्ण कामका कारण संसद्मा आयो ।
अहिले नेताहरुको विश्वसनीयतामा प्रश्न उठेको छ । एमसीसी अनुमोदन नगर्दा अरुलाई होइन, नेपाललाई घाटा हुन्छ । सम्झौता गर्नुभन्दा अगाडि १० पटकमा सोच्नुपर्थ्र्यो । सम्झौता गरेपछि अनुमोदन गर्नुको विकल्प छैन ।’नेता त्रिपाठीले भारतसँगको सम्बन्धमा त्यति धेरै उतारचढाव पनि नआएको र धेरै सुदृढ पनि नभएको विश्लेषण गरे । चीनसँग सम्बन्धलाई अनावश्यक उछालिएको उनले बताए ।
उनले थपे, ‘नेपालका दलहरुको दुःखद पक्ष के हो भने सीमा विवाद र अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक विषयवस्तु बनाउँछन् । अरु देशमा दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा एउटै धारणा राख्छन् । नेपालमा त्यस्ता धारणा पहिले पनि भएन, अहिले पनि भएको छैन । दलहरुले मौसमी नारा चलाउनु विडम्बना हो । हरेक मौसमले सदैव उत्तिकै साथ दिन सक्दैन।’
यसै गरि , नेकपा एमालले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यसपटक युवा नेतृ रचना खड्कालाई दिएको छ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषदमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको हो।
एमालेभित्रको विवादका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकारमा हेराफेरी हुँदा विगतमा माधव नेपालसँग निकट रहेर हाल एमालैमै फर्किएकी खड्काले प्रदेशसभामा पुराना एमाले नेतालाई पछि पार्दै ३६ वर्षकै उमेरमा महत्वपूर्ण मन्त्रालयको जिम्मवारी पाएकी हुन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा उनी सबैभन्दा कान्छी मन्त्री बनेकी छिन्। ५ असार ०४१ सालमा जन्मिएकी खड्काको राजनीतिक यात्रा ०५५ सालबाट सुरु भएको हो। अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का ०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष थिइन्।
एमाले विभाजनका बेला तत्कालीन माधव नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी उनी पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बसिन्। मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री बनेकी हुन्।
Views: 0