ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् ।
स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।
सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो । उनका भनाइमा दुर्घटनाको प्रकृति हेर्दा चालक प्रभाकर केसीले कुहिरो छल्न सिस्नेबाट फुरुम्बुको गढीडाँडातर्फको बाटो समातेको हुनुपर्छ ।
‘मेरो विचारमा हावाले सही दिशा लिन नदिएर एकैचोटि तारेभीरतर्फ खसाल्यो’, पौडेलले भने, ‘कुहिरो छल्न सिस्नेको शिरबाट गढीडाँडा हुँदै सुकेटारतर्फको यात्रा सोचेका चालकलाई हावाको वेग र कुहिरो बाधक बने र हेलिकोप्टर मोडाउने क्रममा दुर्घटनामा प-यो ।’भिडियो हेर्नुहोस
Views: 0