प्राविधिक शिक्षामा फट्को मार्दै देउखुरीको बनगाउँ स्कूल
शिबराज पन्थी । देउखुरी १५ भदाै ।।
प्राविधिक शिक्षाको हव बन्दै गएको दाङ जिल्ला भित्रको भूगोलमा देउखुरीको बनगाउँ स्थित बाल जनता माध्यमिक विद्यालय देउखुरी क्षेत्रको सामुदायिक विद्यालय मध्येको सर्बोत्कृष्ट आकर्षणको केन्द्र बनेको छ । सिटीइभिटीबाट सञ्चालित राप्ती प्राविधीक शिक्षालय बाहेक सरकारी विद्यालयहरु मध्ये प्राविधीक शिक्षाको अध्ययन केन्द्र बन्दै बनगाउँको विद्यालयले प्राविधीक क्षेत्रतर्फ पनि फट्को मार्न थालेको छ ।
नेपाल सरकार प्राविधीक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सानो ठिमी भक्तपुरले प्राविधीक धारमा डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्न सम्वन्धन अनुमति यसै बर्षदेखि प्रदान गरेपछि देउखुरीको बनगाउँ स्थित बालजनता माध्यमिक विद्यालयले प्राविधीक क्षेत्रतर्फ पनि फट्को मार्ने स्थानीय शिक्षाप्रेमीहरुले आंकलन गरेका छन् । यस अघि २०७० सालदेखि वनगाउँ स्थित पृथु कलेजमा डिप्लोमा तहको ४ बर्षे बि.एस्सी.एजी. सञ्चालन हुँदै आएको छ । त्यहाँका कतिपय विद्यार्थीहरुले टियु समेत टप गरेर दाङ जिल्लाकै प्रतिष्ठा राखेको कलेजका प्रमुख प्रदिपराज शर्माले जानकारी दिएका छन् । प्राविधीक धारको पठन पाठनमा उत्कृष्ट स्थान हाँसील गर्दै आएको वनगाउँ स्थित पृथु कलेजको छेवैमा अब बाल जनता माध्यमिक विद्यालयमा पनि यसबर्ष देखि सिटिइभिटीबाट ३ बर्षे बालीविज्ञानको आइ.एस्सी.एजी.प्राविधीक शिक्षा सञ्चालन हुने भएको विद्यालयका प्रधानाध्यापक चेतलाल चौधरीले बताएका छन् । छेवैमा पृथु कलेज छ, हाम्रो विद्यालयमा ३ बर्षे डिप्लोमा तहको वालीविज्ञान पढ्ने विद्यार्थीहरुका लागि समेत ल्याबको प्रयोग गर्न सहज हुने भएको छ, प्रयोगात्मक अभ्यासका लागि जग्गा पनि प्रशस्तै छ– प्रधानाध्यापक चौधरीले भने ।
नेपाल भारत मैत्री संघ अन्तर्गत भारतीय दुतावासबाट प्राप्त भएको २ करोडको लगानीमा आर्थिक बर्ष २०६६÷०६७ मा निर्माण कार्य सम्पन्न भएको सानदार भवनमा बाल जनता माध्यमिक विद्यालय सञ्चालन भएको छ । बिद्यालयको पुरानो भवनमा पृथु कलेज सञ्चालित छ । दुवैतिरका प्राविधीक धारका पढाईमा एक अर्काविच अन्योन्याश्रीत सम्वन्ध छ, जसले गर्दा यहाँ पढ्ने विद्यार्थीलाई प्राक्टीकल अभ्यास र ल्याबको प्रयोगमा समेत सहजता आउने छ । विद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र खड्काले बताए । बाली विज्ञान तथा प्राविधीक शिक्षका लागि ३८ विगाह बढी विद्यालयको जग्गा भएकोले पनि यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि सहज हुने छ । अहिले विद्यालय हाता भित्र क्याण्टीनको ब्यवस्था छ, विस्तारै छात्रवासको पनि ब्यवस्थापन गर्दै जाने सोंचमा छौं, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मंगलप्रसाद चौधरीले भने ।
देउखुरी क्षेत्रको सबैभन्दा पुरानो १० प्लस टु सञ्चालन भएको यस विद्यालयमा हाल कक्षा १० सम्म ५१० जनाको हाराहारीमा विद्यार्थीहरु रहेका छन् । यहाँ पढेका केही विद्यार्थी अहिले राज्यका महत्वपूर्ण अंगमा सरकारी जागिरे भै सके तर हामी यहिंकै शिक्षक रहेका छौं । प्रधानध्यापक चौधरीले भने । विगतमा जिल्ला शिक्षा कार्यालयको कक्षा निरीक्षणमा रुमालप्रसाद अधिकारी जस्ता शिक्षकको प्रयोगात्मक अभ्यसबाट पठन–पाठनमा चर्चा पाएको देउखुरीका सरकारी विद्यालय मध्येको उत्कृष्ट विद्यालय मानिएको विद्यालय हो वनगाउँ । २०४९ सालबाट देउखुरी मै पहिलो पटक प्लस टु सञ्चालन भएको यस विद्यालयको नयाँ भवनमा कुल ३४ वटा कक्षा कोठाहरु रहेको विद्यालयका अध्यक्ष मंगलप्रसाद चौधरीले बताए ।
यसबर्ष मात्र देशभरका आठवटा आंगीक बहुप्राविधिक शिक्षालय र ९५ सरकारी विद्यालयमा प्राविधिक शिक्षाको सम्बन्धन प्राप्त भएको बेला देउखुरीको बनगाउँ स्कूलमा यसबर्ष देखि ३ बर्षे आइ.एस्सी.एजी.वालीविज्ञान डिप्लोमाको पठन–पाठन सञ्चालन हुने भएको हाम्रा लागि गौरबको बिषय भएको सञ्चालक समितिका सदस्य राजेन्द्र खड्काले बताए । आठवटा आंगीक बहुप्राविधिक शिक्षलय मध्ये दाङमा कृष्ण सेन ईच्छुक, नेत्रलाल अभागी र शहिद यागेश्वर बहुप्राविधिक शिक्षालय यसबर्षदेखि प्राविधिक शिक्षाको धारमा सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेका छन् । दाङका सरकारी विद्यालयहरु मध्ये बालजनता माध्यमिक वनगाउँमा ४० जनाको लागि आईएस्सी एजी वालीबिज्ञान पठन–पाठन हुने बताइएको छ । जसमा ४ जना विद्यार्थी छात्रबृत्ति सहित सिटिईभिटीले सिफारीस गर्ने र ३६ जना बिद्यालयले भर्ना गर्न पाउने भएको छ । यसैगरि श्री माध्यमिक घोराहीमा ४० जना वालीविज्ञान, पद्मोदय माध्यमिक विद्यालय भरतपुर दाङमा ४८ जना अटोमोवाईल ईन्जीनियरीङ, आदर्श माध्यमिक विद्यालय देउपुरमा ३ बर्षे सिभिल ईन्जीनियरमा ४८ जना र माध्यमिक विद्यालय घोराहीमा ३ बर्षे सिभील ईन्जीनियरिङमा ४८ जना गरि दाङका सरकारी स्कूलमा मात्र २७२ जना विद्यार्थीहरुले प्राविधिक शिक्षा पढ्न पाउने भएका छन् भने यस बाहेकका बहुप्राविधिक शिक्षलयहरुमा त्यसको दोब्बर संख्यामा विद्यार्थीले पढ्न पाउने छन् । यससंगै सिटिईभिटी द्वारा सञ्चालित राप्ती प्राविधिक शिक्षालय र निजी स्तरबाट सञ्चालीत प्राविधीक धारका थप शिक्षालयहरु पनि रहेका छन् । यस अर्थमा सरकारी विद्यालय र बहुप्राविधीक शिक्षालय तथा राप्ती प्राविधीक शिक्षालयमा गरि करिब ९९२ को हाराहारीमा सरकारी क्षेत्रबाट मात्र प्राविधिक सिप, क्षमता र दक्षतामा विद्यार्थीहरुले अनुकूल वातावरण प्राप्त गर्ने भएका छन् । यसर्थ पनि प्रविधिक शिक्षाको हब दाङ जिल्ला बन्दै छ भने देउखुरीमा राप्ती प्राविधिक शिक्षालयसंगै वनगाउँ पनि प्राविधिक शिक्षाको हब बन्दै गरेको छ ।
वनगाउँको पृथु कलेजमा कृषि स्नातकमा हाल १९९ जना विद्यार्थीहरुले स्नातक गर्दै छन् भने बालजनता मावि मा ४० जनाले प्रविधिक शिक्षा हाँसील गर्ने छन् । यस मानेमा बनगाउँका २ वटा शैक्षिक निकायमा बर्षेनी २४० जनाले प्राविधिक शिक्षा पढ्न पाउने भएका छन् । त्यसैले पनि देउखुरीको बनगाउँले प्राविधीक शिक्षामा फट्को मार्न थालेको स्थानीय शिक्षाप्रेमी बुद्धिजिवीहरुको भनाई रहेको छ ।
वर्तमान प्रधानमन्त्रीको पदवाहालीको क्रममा संवोधन भए बमोजिम आगामी २ बर्ष भित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यता प्राप्त शिक्षालयहरु स्थापना गर्ने कुरालाई नेपाल सरकारले साकार रुप दिदै आएको छ । स्थानीय सरकारबाट सहमति र अनुरोध पश्चात् शैक्षिक सत्र २०७५÷०७६ देखि प्राविधिक शिक्षाको गुणस्तरीय प्रशिक्षण गराउने नीति बमोजिम ब्यवसायिक तालिम परिषद्को १४७ औं बैठकबाट ३ बर्षे डिप्लोमा र प्रमाणपत्र तह प्राविधिक शिक्षा कार्यक्रम देशभर सञ्चालन हुने भएको हो । सामुदायिक विद्यालय प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम अन्तर्गत महाशाखाले डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्न सम्बन्धन अनुमति प्रदान गरेको हो । जसमा देउखुरीको बालजनता माध्यमिक विद्यालयले पनि अवसर प्राप्त गरेको विद्यालयले जनाएको छ ।
Views: 0