विराटनगर : भारतबाट हुने अवैध तस्करीमा मोरङको रतुवामाई नगरपालिकामा जनप्रतिनिधि नै संलग्न रहेको पाइएको छ। रतुवामाई-१ का वडासदस्य मोहम्मद सदिर मियाँले आफ्नै नाममा ट्र्याक्टर खरिद गरेर तस्करी धन्दा चलाइरहेको पुष्टि भएको हो। भारतबाट सस्तोमा खरिद गरेर अवैध रुपमा सामान नेपाल आयात गर्दै पूर्वका विभिन्न ठाउँसम्म ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। भन्सार छली गर्दै नेपाल ल्याइएका सामान ट्र्याक्टरमा हालेर आफूसँग ‘कनेक्सन’मा रहेका व्यापारीसम्म पुर्याउने मियाँको मुख्य धन्दा रहेको पाइएको हो। उनी कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।
मियाँले मे.१ त ८७१६ नम्बरको ट्र्याक्टर तस्करीका सामान ओसारपसारमा प्रयोग गरिरहेको एउटा घटनाले पुष्टि गरेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले बताए। उनका अनुसार भारतबाट अवैध रूपमा ल्याएको २५ क्विन्टल चिनी ट्र्याक्टरमा राखेर गन्तव्यसम्म पुर्याउँदै गर्दा बरामद गरिएको छ। अनुसन्धान गर्ने क्रममा चिनी र ट्र्याक्टर मियाँको रहेको पुष्टि भएको रायमाझीको भनाइ छ। उक्त चिनी सीमावर्ती भारतको फूलबारी बजारबाट भित्र्याइएको हो। ‘अरु बेला पनि ट्र्याक्टर तस्करीमा प्रयोग गरेको खुलेको छ,’ उनले भने, ‘प्रायः ट्र्याक्टर वडासदस्य मियाँ आफैंले चलाउने गरेको पनि पाइयो।’ तर, तस्करीको चिनीसहित नियन्त्रणमा लिइएका बेला भने चालक अर्कै व्यक्तिलाई राखेको पाइएको रायमाझीले जानकारी दिए।
चालकको पहिचान खुलिनसकेको र फरार रहेका कारण खोजी भइरहेको उनले बताए। प्रहरीले चिनीको भन्सार बुझाएको कुनै पनि कागजपत्र फेला नपरेको जनाएको छ। वडासदस्य मियाँ फरार छन्। मियाँको रतुवामाई-१ सोनापुरबाट नेपाल-भारत सीमानाका दसगजामै टाँसिएको छ। उनी धान व्यापारी पनि हुन्। आफ्नै घरमा काँटा राखेर धानको व्यापार गर्दै आएका मियाँले त्यसकै आडमा अवैध तस्करी धन्दा चलाउने गरेको पाइएको प्रहरीको भनाइ छ। ट्र्याक्टरमा धानको बोराले छोप्दै ट्रलीको बीच भागमा राखेर ल्याउँदै गर्दा ५० बोरा चिनी र एक सय सात बोरा धान बरामद भएको रायमाझीले बताए। तस्करीको चिनी र धान लोड गरिएको ट्र्याक्टर उर्लाबारीतर्फ जाँदै थियो।स्थानीय बासिन्दाले पनि लामै समयदेखि तस्करीमा मियाँको संलग्नता रहेको बताएका छन्। घटनाअनुसार आइतबार दिउँसो ३ बजेतिर उर्लाबारीतर्फ जाँदै गरेको मे १ त ८७१६ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा.२९ प ६८४५ नम्बरको मोटरसाइकललाई रतुवामाई नगरपालिका-१० टाली भट्टामा ठक्कर दियो। दुर्घटनामा मोटरसाइकलमा सवार एउटै परिवारका दाजुभाइ रतुवामाई-६ का प्रकाश र खगेन्द्र भेटुवाल घाइते भए। उनीहरूको न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रयाक्टरको अगाडिको चक्का खुस्कियो। दुर्घटनालगत्तै चालक फरार भए।
स्रोत: Annapurna
Views: 0