लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरूमा लोकसेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन्।
उनले भने,‘लाखौं युवाहरूलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन। मंसिरपछि भर्ना विज्ञापन खोल्छौं।’
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयकासाथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे।
उनले भने,‘अब अर्कोपटक सार्दैनौं।’साक्षात्कारमा अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन्।
उनले भने,‘हामीले एक/दुई वटा विषयमा सरकारलाई सुझाव दिएको छौं, सरकारले त्यसलाई परामर्शको रूपमा लिनुपर्छ, हामीले नचाहँदा नचाहँदै पनि सरकारको असहजतालाई ध्यानमा राखेर दुई महिनाको लागि विज्ञापन रोकेका हौं, यो हाम्रो बाध्यता हो।’
‘पेपर र पेन्सिल’को आधारमामात्रै लिइने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै अध्यक्ष मैनालीले भने,‘व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिलमात्रै होइन, अरु ज्ञानको पनि खाँचो हुन्छ, योग्यता परीक्षणका नयाँ विधिहरू अघि सार्ने योजना बनाउँदैछ।
फरक प्रसंगमा उनले प्रदेश सरकारले हामीलाई यति कर्मचारी चाहियो भनेर लिखित रूपमा दिए आयोगले ६ महिनाभित्रै कर्मचारी पदपूर्ति गरिदिने विश्वास दिलाए।
“कर्मचारी समायोजना ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपूर्ति गरिदिन्छौं ” उनले भने।
-सेतोपाटी
Views: 0