भूपेन्द्र वली
दाङ, २२ माघ |
प्रतिष्ठान कार्यसञ्चालनका लागि छलफल गर्न डाकिएको पहिलो सिनेट बैठकलाई लिएर विवाद सुरु भएको छ । दाङमा प्रतिष्ठानको कार्यालय भए पनि काठमाडौंमा बैठक राखिएको भन्दै स्थानीय सरकोरवालाले असन्तुष्टि जाहेर गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान ९ बजेका लागि बैठक तय गरिएको छ ।
स्थानीय सरोकारवालाद्वारा बैठक बहिष्कार
काठमाडौंमा बैठक राखिनु गलत भएको भन्दै स्थानीय सरोकारवालाले बैठक बहिष्कार गर्ने जनाएका छन् । प्रतिष्ठानको पहिलो बैठक दाङमै हुनुपर्ने उनीहरूको भनाइ छ । काठमाडौंमा बैठक राखिएकाले आफूहरू सहभागी नहुने घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए । काठमाडौंमै रहेका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि आफू बैठकमा सहभागी हुन नसक्ने बताए ।
‘राष्ट्रिय सभा निर्वाचनको मुखमै बैठक राखिएकाले सहभागी हुन नसक्ने भएको छु,’ उनले भने, ‘कुलपतिको अध्यक्षतामा बैठक बस्ने भए काठमाडौंमा राखिनु ठीक हो । तर, उपकुलपतिको अध्यक्षतामा बैठक बस्ने गरी काठमाडौंमा राखिएको हो भने यो ठीक भएन ।’ उपकुलपतिको अध्यक्षतामा बस्ने बैठक दाङमै राखिनुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठान स्थापनका लागि सहजीकरण गर्ने जिम्मेवारी पाएका जीवन गौतमले काठमाडौंमा बैठक राखिएकोप्रति असन्तुष्टि जनाए । ‘प्रतिष्ठानलाई राम्रोसँग अघि बढाउन यहाँका सरोकारवालासँग निरन्तर छलफल आवश्यक छ,’ उनले भने, ‘तर उहाँलाई यहाँका सरोकारावालासँग छलफल गर्ने फुर्सद छैन ।
काठमाडौंमै बसेर सबै कामकाज चलाउन खोजिरहनुभएको छ । प्रतिष्ठानको सम्पर्क कार्यालयसमेत उतै खोल्नुभएको भन्ने सुनेको छु ।’ प्रतिष्ठान रहेको वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले मेयर चौधरीलाई फोन गरेर कुनै पनि हालतमा बैठकमा सहभागी नहुन भनेको बताए ।
प्रतिष्ठानलाई अगाडि बढाउन सरसल्लाह नगरी एकलौटी ढंगले काठमाडौंमा बैठक बसाल्नु जायज नभएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । उपकुलपतिको काठमाडौंकेन्द्रित व्यवहारका कारण विरोधमा उत्रनुपरेको उनीहरूको भनाइ छ ।
दुईचोटि मात्र आइन् उपकुलपति
प्रतिष्ठानको उपकुलपति संगीता भण्डारी हुन् । जिम्मेवारी पाएको डेढ महिना बितिसक्दा पनि उनी दुईचोटि मात्र दाङ आएको अस्पताल स्रोतले जनाएको छ । सरकारले गत २६ पुसमा भण्डारीलाई प्रतिष्ठानको उपकुलपति नियुक्ति गरेको थियो ।
‘पहिलोचोटि आउँदा हाजिरी मात्र लाएर फर्किनुभयो,’ अस्पतालका एक चिकित्सकले भने, ‘दोस्रोपटक खोपमुक्त जिल्ला घोषणा कार्यक्रममा आउनुभएको थियो । तर, प्रतिष्ठान सञ्चालनबारे स्थानीय सरोकारवालासँग कुनै सरसल्लाह गर्नुभएन ।’ स्रोतका अनुसार काठमाडौंमै प्रतिष्ठानको कार्यालय राख्ने तयारी भइरहेको छ ।
बैठक बहिष्कारबारे जानकारी छैन
प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले भने बैठक बहिष्कारबारे आफूलाई कुनै जानकारी नआएको बताइन् । घोराही उपमहानगरपालिकाका मेयर चौधरीसँग सम्पर्क हुँदा आफू राष्ट्रिय सभा निर्वाचनमा व्यस्त हुनुपर्ने भएकाले बैठकमा आउन नसक्ने जानकारी गराएको उनको भनाइ छ । कुलपतिको निर्णयअनुसार काठमाडौंमा बैठक बस्न लागेको उनले बताइन् ।
‘कुलपतिले बैठक काठमाडौंमा बोलाउनुभएको हो,’ उनले भनिन्, ‘दाङमा बैठक राख्न सभाकक्षसमेत छैन । २१ जना सिनेट सदस्य तथा पदाधिकारीलाई ल्याएर कसरी बैठक बस्नू ? म दाङ जाँदा होटेलमा बस्नुपरेको छ ।’ सोमबारको बैठकमा प्रतिष्ठानका लागि आवश्यक पूर्वाधार, दरबन्दीलगायतका विषयमा छलफल गरिने उनले जानकारी दिइन् ।
Views: 0