नम्बरप्लेटमा सधैं झन्झट! प्रदेशको नामाकरणपछि फेरि परिवर्तन गर्नुपर्ने

२०७५ कार्तिक २५, आईतवार ०३:३८ गते २०७५ कार्तिक २५, आईतवार ०३:३८ गते २०७५ कार्तिक २५, आईतवार ०३:३८ गते

काठमाडौं । यातायात व्यवस्था विभागले समयमा ध्यान नदिँदा सवारीधनीलाई सवारी नम्बरप्लेटले सधैं हैरानी खेप्नुपरेको छ ।

साविक बागमती अञ्चलमा दर्ता भएका मोटरसाइकल ९९ लट पुगेपछि असोज १६ बाट दर्ता रोकिएको थियो भने पछि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश नम्बरअनुसार नै दर्ता प्रक्रिया सुरु भएको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा सवारी दर्ता गर्दा दुई अङ्कको मात्र लट रहने व्यवस्था छ ।सो नियमावलीअनुसार ९९ बाट १ सय लट लैजान नसकिने भएपछि कार्यालयले दर्ता रोकेको थियो ।

यसपछि असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले गाडीको नम्बरप्लेटमा संविधानमै नभएको अञ्चल लेख्न नसकिने भन्दै प्रदेशअनुसार दर्ता गर्ने निर्णय गरेपछि शतुङ्गलस्थित कार्यालयले मोटरसाइकल दर्ता सुरु गरेको हो ।

नामाकरणपछि फेरि झन्झट !
सरकारले प्रदेशको नामाकरण गरेपछि अहिले प्रदेश नम्बर लेखिएको मोटरसाइकलको नम्बरप्लेटमा पुनः प्रदेशको नाम लेख्नुपर्ने समस्या सर्वसाधारणमा छ । ९९ सय लट पुगेपछि प्रदेशको नम्बर लेखिसकिएका मोटरसाइकल धनीले प्रदेशको नामाकरणपछि फेरि प्रदेशको नाम लेख्ने झण्झट देखिएको छ ।

“प्रदेशको नामाकरणपछि प्रदेशको नाम उल्लेख गर्नुपर्छ,” यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्यकुमार ढकालले बाह्रखरीसँग भने, “अहिले नै सरकारले प्रदेश नम्बर ३ को नामारकरण गरिसकेको छैन । यसैले मोटरसाइकलको दर्ता रोकिएको अवस्थामा हामीले प्रदेशको नम्बरअनुसार नै मोटरसाइकल दर्ता सुचारु गरेका हौ । सरकारले प्रदेशको नामाकरण गरेपछि नम्बरप्लेटमा पनि प्रदेशको नाम नै लेखिनेछ ।”

इम्बोस्ड नम्बर : ल्याइयो, रोकियो
गतवर्ष भदौमा सरकारले गाडीमा इम्बोस्ड नम्बरप्लेट जारी गर्यो ।  ५ वर्षभित्र देशभरका २५ लाख गाडीमा अनिवार्य रुपमा जडान गरिसक्ने भन्दै इम्बोस्ड नम्बरप्लेट जारी गरेको थियो ।  बङ्गालदेश र अमेरिकाको जोइन्ट भेन्चर कम्पनी डेकाटोर टाइगर नामक कम्पनीले यातायात व्यवस्था विभाग छेउमै आफ्नो कार्यालय स्थापना गरी इम्बोस्ड नम्बरप्लेट उत्पादन सुरु गरेको थियो ।

गतवर्ष नै फागुनमा सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर नरहेको, छिमेकी भारतमा भन्दा दोब्बर महङ्गो परेको र इम्बोस्ड नम्बरमा नेपाली अंक, अक्षर नभएको भन्दै सर्वोच्चले इम्बोस्ड नम्बर जडान नगर्न फैसला गरेको थियो । “सर्वोच्च अदालतको निर्णय नआएसम्म इम्बोस्ड नम्बर जडानबारे केही बोल्ने अवस्था छैन,” महानिर्देशक ढकालले भने, “सर्वोच्चको निर्णय आएपछि इम्बोस्ड नम्बर जडानको थप काम सुरु गर्छौं ।”

इम्बोस्ड नम्बर जडान गरेपछि गाडी कहाँ पुग्यो भन्ने जानकारी ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्ने हुँदा गाडी चोरी हुने सम्भावना नरहने विभागले बताएको थियो ।  तर इम्बोस्ड नम्बरलाई ‘डिटेक्ट’ गर्ने आरएफआइडी गेट नबन्दा  तत्कालीन समयमा इम्बोस्ड नम्बर जडान भएका करिब ४ हजार गाडी धनीले पनि इम्बोस्ड नम्बरप्लेट जडानपछि पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् ।

इम्बोस्ड नम्बर एकपटक जडान गरेपछि १० वर्षसम्म परिवर्तन गर्नुनपर्ने विभागले व्यवस्था गरेकाले इम्बोस्ड नम्बर जडानपछि पाइने सुविधा र भनिएको सुरक्षाबिना नै इम्बोस्ड नम्बर जडान गरिएका गाडी गुडिहेका छन् ।

अन्य प्रदेशमा के हुन्छ ?

साविक बागमती अञ्चलमा मोटरसाइकलको लट ९९ पुगेपछि प्रदेशअनुसार दर्ता गर्ने प्रक्रिया सुरु भएको हो ।  हाल यहाँका मोटरसाइकल नम्बरप्लेटमा प्रदेश ३ लेखिने गरेको छ ।  अन्य प्रदेशमा भने पुरानै अञ्चलअनुसार गाडी दर्ता भइरहेको महानिर्देशक ढकालले बताए ।
साविक बाग्मती कार्यालयले मोटरसाइकल बाहेकका गाडीमा ‘बाग्मती’ नै लेखेर गाडी दर्ता र नम्बरप्लेट जडान गरिरहेको छ ।

“अहिले दर्ता हुन आएका गाडीलाई हामीले बाग्मतीकै नम्बर दिइरहेका छौं । अब दर्ता हुन आउने गाडीलाई प्रदेश नम्बरअनुसार दर्ता गरी प्रदेश नम्बरअनुसार नम्बर दिनेछौं,” यातायात व्यवस्था कार्यालय साना, ठूला सवारी एकान्तकुना कार्यालयका प्रमुख बसन्त पन्थीले भने, “कार्यालयका सबै शाखामा प्रदेशअनुसार दर्ता गर्ने सफ्टवेयर इन्सटलमेन्टको काम भइरहेको छ । तिहारपछि गाडीमा पनि प्रदेशअनुसार नम्बरप्लेट दिने छौं ।”

अन्य प्रदेशमा भने साविकअनुसार नै गाडी र मोटरसाइकल दर्ता भइरहेको र सरकारको अर्को निर्णय नआएसम्म साविकअनुसार नै दर्ता गरिने महानिर्देशक ढकालले जानकारी दिए ।

-१२ खरी 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *