काठमाडौं । अमेरिकी डलरको भाउ विस्तारै बढ्न थालेको छ । गत शुक्रबारको तुलनामा आइतबार (आज) यसको भाउ ३४ पैसाले महँगो भएको हो ।
मुलुकको केन्द्रीय बैंकले आइतबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १५ रूपैयाँ ३४ पैसा बिक्री दर र १ सय १४ रुपैयाँ ७४ पैसा खरिद दर रहेको छ ।
गत शुक्रबाबार १ बराबर १ सय १५ रुपैयाँ रहेको थियो । त्यसअघि बिहीबार १ सय १५ रुपैयाँ ५२ पैसा, बुधबार १ सय १५ रुपैयाँ २७ पैसा, मंगलबार १ सय १४ रुपैयाँ ४५ पैसा तथा सोमबार, आइतबार, शनिबार र शुक्रबार १ सय १३ रुपैयाँ ५९ पैसा थियो ।
गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि तोकेको डलर भाउ दुई दिनअघि शुक्रबारबारको दाँजोमा ३४ पैसाले महँगो छ । मंसिर १५ गते डलर भाउ घटेर साढे ३ महिनाअघिकै हाराहारीमा १ बराबर १ बराबर १ सय ११ रूपैयाँ ६५ पैसामा झरेको थियो । साउन २८ गते १ डलरबराबर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।
अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले आइतबार १ अमेरिकी डलरबराबर भारु ७२ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।
डलर भाउ जति बढ्दै जान्छ, नेपालीले उपभोग गर्ने सामानको भाउ उति महँगो हुने गर्छ । नेपालले निर्यातको दाँजोमा वस्तु आयात ११ गुणासम्म बढी गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ । स्थानीय उत्पादन लगभग शून्यजस्तै हुनु र त्यसमाथि दैनिक उपभोग्य सामान विदेशबाटै किनेर ल्याउनुपरेपछि डलर भाउ बढ्दा उपभोक्ताले महँगी खेप्नु स्वाभाविक हो ।
अमेरिकी मुद्रास्फीति, बेरोजगारी दरमा राम्रो सुधार आएका कारण उसको अर्थतन्त्र समग्र हिसाबमा बलियो हुँदै गएका कारण डलरको भाउ केही समयदेखि बढिरहेको थियो । यसअघि डलर भाउ १ सय २० रुपैयाँसम्म पुग्ने सम्भावना यस क्षेत्रका विज्ञले औंल्याएका भए पनि लगभग १ सय २० रूपैयाँ नजिक पुगेर घट्न थालेको थियो ।
ताजा तथ्यांकअनुसार मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो ।
नेपालबाट गत आर्थिक वर्ष २०७४–७५ मा ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो । उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तै पनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।- १२ खरी
Views: 0