ठेकेदार सांसदलाई समितिमा राखेपछि संसदमा चर्काचर्कीकाठमाण्डु टुडे
काठमाण्डु, ९ असोज – संसदको विकास समितिका सदस्यहरूले ठेकेदार सांसदहरूलाई नै समितिमा राखिएकोबारे असन्तुष्टि व्यक्त गरेका छन् ।
सभापति चयनपछि मंगलबार समसामयिक विषयमा छलफल गर्न बसेको समितिको बैठकमा बोल्दै सांसदहरूले नियमावलीविपरित ठेकेदारसमेत रहेका सांसदलाई किन समितिमा राखेको भन्दै प्रश्न गरे ।
समिति सदस्य सांसद दुर्गा पौडेलले बैठकमा भनिन्, ‘नियमावलीविपरित ठेकेदारलाई किन समितिमा राखियो ? सबैभन्दा पहिला यही विषयमा समितिमा छलफल हुनुपर्छ ।’
उनले देशभरि विभिन्न स्थानमा पुल नबनाएको पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ ठेक्का दिइएकोबारे सरकारको धारणा माग्नुपर्ने बताइन् ।
अर्का सांसद यज्ञराज सुनुवारले पनि ठेकेदार सांसदलाई समितिमा राख्नुका कारणहरू पेस गर्नु पर्ने बताए ।
त्यस्तै सांस्द रामुकारी झाक्रीले पप्पु कन्स्ट्रक्शन्सलाई नै किन यति धेरै टेण्टर पर्छन–पारिन्छ ? भन्दै प्रश्न तेर्साएकी थिइन् । साथै उनले थुप्रै पुल निर्माण सम्पन्न नभएका उदाहरण हुँदाहुँदै पनि फेरी कसरी राष्ट्र बैंक भवन बनाउने टेण्टर पर्यो ? भन्दै अर्को प्रश्न गरेकी थिइन् । सरकारको कार्यशैली वा नियममा खराबी भए सच्याउन माग गरिन् ।
विकास समितिमा तीन जना ठेकेदार सांसद सदस्य छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा मिति सदस्य हुन् ।
Views: 0