बागलुङ : ताराखोला गाउँपालिकाले भैँसीलाई सुत्केरी भत्ता दिन थालेको छ।
गाउँमा भैँसीको संख्या वृद्धि गर्ने र किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले सुत्केरी भत्ता दिन थालेको हो। गाउँका किशानहरू एउटै भैँसीको दुधमा रमाउने परिपाटीको विकास भएपछि भैँसीको संख्या बढाउनकै लागि भैँसीलाई सुत्केरी भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ।
गाउँमा पाडापाडी हुर्काउँदा दूध कम हुने भएकाले जन्मेका पाडापाडी तत्कालै फाल्ने चलन रहेको छ। पाडापाडीलाई संरक्षण गर्ने र हुर्काउने नगर्दा भैँसीको संख्या घट्दै गएको र मूल्य समेत बढ्दै गएको गाउँपालिकाले जनाएको छ। ‘गाउँमा पाडापाडी हुर्काउनै छोडे, भैँसीको संख्या घट्दो हुँदा मूल्य बढेको बढ्यै छ’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, ‘भैँसीको संख्या बढाने र किसानलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो।’ ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैँसीबाट राम्रो दूध उत्पादन लिन सकिने भए पनि स्थानीय किसानहरू पाडापाडी पालनमा अग्रसर नभएकाले सबैलाई अग्रसर गराउँने उद्देश्यले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताए।
स्थानीय जातको भैँसीको संरक्षण पनि हुने र दूधको उत्पादन बढ्ने गरी सुत्केरी भत्ता योजना बनाइएको हो। भैँसीको सुत्केरी भत्ता प्राप्त गर्नका लागि किसानले आफ्नो भैँसी सुत्केरी भएपछि जन्मिएका पाडापाडी हुर्काउने विश्वास गाउँपालिकालाई दिलाउनुपर्छ। गाउँपालिकाले भैँसी सुत्केरी भएको छ महिनासम्म स्थानीय किसानले पाडापाडी पालेका छन्/छैनन् अनुगमन गरेर एकहजार रुपैयाँ सुत्केरी भत्ताको व्यवस्था गरिएको अध्यक्ष घर्तीले बताए। अहिले गाउँमा कति सुत्केरी भैँसी छन् भन्ने विषयमा वडागत रूपमा लगत संकलन भइरहेकाले यस वर्ष एकहजार भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष घर्तीले बताए। चालु आर्थिक वर्षमा गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर भैँसी सुत्केरी भत्ताको व्यवस्था सुरु गरेको गाउँपालिकाले जनाएको छ।
ताराखोलाका तारा, हिल, अर्गल, अमर भूमिमा स्थानीय लिमेपाराकोटे जातका भैँसीको संख्या अत्याधिक भएपनि स्थानीय किसानहरू एउटा भैँसीको उत्पादनमै रमाउँने गरेकाले त्यसलाई अन्त्य गर्नका लागि यो अभियान सुरु गरिएको गाउँपालिका उपाध्यक्ष दीलकुमारी रोकाले बताइन्। ‘स्थानीय किसानले पाडापाडीलाई दूध दिंदा आफूले थोरै उपभोग गर्न पाइन्छ भन्ने उद्देश्यले भैँसी सुत्केरी हुँदासाथ जन्मिएका पाडापाडीलाई मासुको रूपमा प्रयोग गर्दा दुधालु भैँसीको तथा मासुका लागि प्रयोग गरिने राँगाहरूको संख्या घट्दा मासु तथा दूधमा आत्मनिर्भर बन्न नसकिएकाले दूध र मासुमा आत्मनिर्भर बन्ने उद्देश्यले यस्तो योजना अगाडि सारेका हौँ’ गाउँपालिका अध्यक्ष घर्तीले भने।
स्थानीय स्तरमा भैँसी संरक्षणका लागि केही समयदेखि तत्कालिन पशु सेवा कार्यालय बागलुङले कृषक समूहमार्फत अभियान सञ्चालन गरे पनि एक-दुई लिटर दूधको लोभमा यो अभियान सफल हुन नसकेकाले भैँसी सुत्केरी भएपछि एकहजार रुपैयाँ कमाइन्छ भन्ने भावना सिर्जना गर्नका लागि भत्ताको व्यवस्था गरिएको ताराखोला गाउँपालिकाका कार्यकारी अधिकृत तोपलाल भुषालले बताए।
थाहा खबर बाट
Views: 0