४० जिल्ला पुग्यो कोरोना भाइरस, एक सातामै संक्रमित दोब्बर बढे

काठमाडौँ, १० जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण ४० जिल्लामा फैलिएको पुष्टि भएको छ । परीक्षणको दर बढाउँदै जाँदा संक्रमणको फैलावटमा पनि तिव्रता पाइएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस रोगका संक्रमितको संख्या एक सातामा दोब्बर भएको छ । नेपालमा गत माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । अहिलेसम्म नेपालमा तीनजनाको मृत्यू भएको छ भने कुल ५ सय १६ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा एक साताअघि अघिल्लो शुक्रबार २ सय ५८ मात्र संक्रमित भेटिएका थियो । पछिल्लो एक हप्तामा यो संख्या बढेर दोब्बर भएको हो ।छिमेकी मुलुकहरुमा भन्दा नेपालमा दोब्बर हुने समय छिटो पाइएको छ । संक्रमित दोब्बर हुन पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिन लागेको पाइएको छ । चीनमा त कोरोना संक्रमण दोब्बर हुन १ सय १ दिन लागेको थियो ।विकसित देशहरुमा थप धेरै दिन लागेको पाइन्छ । जोन हपकिङ्स विश्वविद्यालयद्वारा सार्वजनिक एक रिपोर्टअनुसार बेलायतमा ३१ दिनमा संक्रमण दोब्बर हुँदा फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन र इटली र स्पेनमा ४९ दिन लागेको थियो ।

नेपालमा सरकारी व्यवस्थापनको फितलोपन, खुला सिमाना, कमजोर लकडाउन र कमजोर क्वारेन्टाइनको व्यवस्थापनका कारण संक्रमणको दर तीव्र भएको सरकारी अधिकारीकै निष्कर्ष छ । परीक्षणको दायरा बढाइएकोले पनि यस्तो भएको हुनसक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।सरकारी संयन्त्रहरुले बिरामी र संदिग्धको कन्ट्याक्ट ट्रेसिङमा पनि आक्रामक रणनीनि अपनाउन सकिरहेका छैनन् । त्यसैले कोरोना संक्रमणका कतिपय अनौठा घटनाहरु पनि भइरहेका छन् । डडेल्धुरामा ‘ट्राभल हिस्ट्री’ नभएका सरकारी कर्मचारीमा जिल्लामै पहिलो कोरोना संक्रमण पुष्टि भएको छ । उता बैतडीमा भारतबाट आएको ६०–६५ दिन भइसकेका व्यक्ति प्रहरी हिरासतमा रहेका बेला कोरोना पुष्टि भएको छ ।कतिपयले कोरोनाकै कारण निधन भएकी सिन्धुपाल्चोककी महिलामा कहाँबाट कोरोना सरेको थियो भन्नेबारे सरकारले अझै निष्कर्ष निकाल्न नसकेको बताउँछन् । यसले सरकारी सक्रियताको अवस्था देखाउँछ ।

  • तथ्यांकमा कोरोना संक्रमित
  • कुल संक्रमित- ५१६
  • जिल्ला- ४०
  • पुरुष- ४४०
  • महिला- ७६
  • निको हुनेको संख्या- ७० (प्रदेश १ बाट २६, प्रदेश २ बाट ६, वाग्मतीबाट ९, गण्डकीबाट २, प्रदेश ५ बाट २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना)
  • निको हुन लागेको समय- १७ देखि २० दिन
  • कुल पिसिआर परीक्षण- ४२,४८८