सीमा विवाद बढेसँगै नेपाल भारतबीच ‘साइबर वार’ शुरु

एजेन्सी। भारतीय सञ्चारमाध्यमले भारतीय भूमि दाबी गर्दै नेपालले नक्सा सार्वजनिक गरेको आरोप गरिरहेको बेला एक भारतीय ह्याकर समूहले नेपाली वेभसाइटहरु ह्याक गरेका छन्।ह्याकको प्रारम्भ भने नेपाली ह्याकहरहरूले गरेका थिए। नेपाली साइटहरू ह्याक गर्दै आएको सैतान नामाकरण गरिएको नेपाली ह्याकरले प्रारम्भमा बलिउडमा कार्यरत नेपाली नायिका मनिषा कोइरालाविरुद्ध घृणा फैलाउने गरी एकतर्फी समाचार प्रसारण गरेको एबिपीन्युजको साइटमा आक्रमण गरेका थिए।

उनीहरुले एबिपीन्युजको ‘एपिआइ की’ ह्याक गरी ट्विट गर्दै सार्वजनिक गरिदिएका थिए। उनीहरूले युनिभर्सिटी अफ लद्दाखको विद्यार्थीहरुको सबै विवरणसमेत सार्वजनिक गरिदिएका थिए भने जलपाइगुडी इन्जिनियरिङ कलेजको डाटाबेसमा आक्रमण गरेको दाबी गरेका थिए।यही समूहले यस अगाडि नेपालका केही साइट पनि ह्याक गरेका थिए। उनीहरुले त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीको साइटमा रहेको सबै कर्मचारीहरूको गोप्य विवरण सार्वजनिक गरिदिएका थिए भने प्रभु मनी ट्रान्सफरलगायतकाको विवरण सार्वजनिक गरेका थिए।

शुक्रबारबाट उनीहरुले भारतीय सञ्चारमाध्यम र भारतका सरकारी वेबसाइटमा आक्रमण शुरु गरेपछि भारतीय ह्याकरहरु पनि सक्रिय भए। इन्डियन साइबर ट्रुप्सले माइएसटिएसइडियुडटकम, इएमएसएमयुएनडटकम, जेकेएमएसटिएसडटइडियुडटएनपी, साइट ह्याक गरिदिए। यी सबै साइट अहिले बन्द छन्।इन्डियन साइबर ग्रुप यसअगाडि नेपाली साइट ह्याकमा संलग्न देखिएका थिएनन्। उनीहरू पाकिस्तान र चीनका साइट ह्याक गर्न सक्रिय थिए। उनीहरुको ट्विटर ह्यान्डलमा दर्जनौँ पाकिस्तानी साइट ह्याक गरेको सूची अहिले पनि छ।नेपाली ह्याकर र भारतीय ह्याकरहरूले एक अर्कालाई चुनौती दिँदै थप साइट ह्याक गर्ने चेतावनी दिइरहेका थिए। शुक्रबार मध्याह्नतिर भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली ह्याकरहरुसँग छलफल भएपछि एक अर्काको देशको साइट अब ह्याक नगर्ने सहमति बनेको उल्लेख गर्दै टुइट गरे। ‘सानो विषयमा भारत र नेपालको भाइचारा नगुमाऔं, सबै विषय हाम्रो सरकारलाई छाडौँ’ लेखेका छन्।

यसले तत्काल समस्या साम्य भएको देखिए पनि खतरा भने कायमै रहेको देखिन्छ। साइबर सुरक्षासम्बन्धी जानकार दिव्येश गिरी यस अगाडि पाकिस्तान र चीनविरुद्ध ‘साइबर वार’मा सक्रिय समूह अहिले नेपालका साइट ह्याकमा संलग्न देखिएको र यसले नेपालको डाटा सुरक्षा खतरा बढाएको बताउँछन्। उनले तत्काल यस विषयमा सरकारी निकाय सचेत हुनुपर्ने बताए।’साइवर वार सरकार र नेपालका नीजि कम्पनीको डाटा सुरक्षामा चुनौती बनेर देखिएको छ,’ उनले नेपाल लाइभसँग भने, ‘अहिलेको दुनियामा डाटा नै सुन हो। त्यसैले साइबर सुरक्षामा सरकारी नीजि दुवै तहबाट लगानी बढाउन आवश्यक छ।’

रमिता हेर्दै सुरक्षा निकाय: नेपाल र भारतीय ह्याकर सक्रिय हुने आँकलन गरेर प्रहरी प्रधान कार्यालय र साइवर ब्युरोका प्राविधिक बिहीबारबाटै अलर्ट थिए। शुक्रबारबाट दुवैतिरका समूह एक अर्काको देशका वेबसाइटहरु ह्याक गर्ने र ट्विटर र फेसबुकमा रहेको आफ्नो साइटबाट विवरण सार्वजनिक गर्न सक्रिय भए। साइबर ब्युरोका अधिकारीहरु अनुगमनमा थिए। तर उनीहरुले हेर्न बाहेक थप केही गर्न सक्ने अवस्था थिएन।नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले केही सञ्जालहरुमा नेपाली र भारतीय साइट ह्याक गरिएको भन्ने विवरणहरु देखिए पनि यसबारे विस्तृत विवरण भने नआएको बताए। उनले यस्ता विवरण देखिए लगत्तै साइबर ब्युरोलाई अलर्ट गराएको र यसबारे ब्युरोले अनुसन्धान गरिरहेको दाबी गरे।पक्राउ पर्दैनन् ह्याकर: नेपालमा विदेशीसँगै नेपाली ह्याकरहरुले समेत बेलाबखत नीजि र सरकारी साइटहरुमा आक्रमण गरी ह्याक गर्ने गरेका छन्। यस अगाडि मर्कन्टाइल, फुडमान्डुडटकमको डाटा सार्वजनिक गरिदिएका थिए। रक्षा मन्त्रालय लगायतका सरकारी वेबसाइटहरु पटक पटक ह्याक हुने गरेका छन्।

बैंकको सिस्टममै प्रवेश गरेर पैसा ट्रान्सफरसमेत भएका छन्। तर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या र धम्की जस्ताअपराधमा संलग्नहरु पक्राउ पर्ने गरे पनि ह्याकमा संलग्न समूह या व्यक्ति भने पक्राउ पर्ने गरेका छैनन्।साइबर क्राइम नियन्त्रणसम्बन्धी जानकार एक अधिकारीका अनुसार अन्तराष्ट्रिय र संगठित रुपमा नेपालमा हुने ‘साइबर वार’ रोक्न साइवर ब्युरोसँग प्रविधि नै छैन। जनशक्ति क्षमता भएका भए पनि प्रविधि र सम्बन्धित निकायसँगको समन्वयको अभावमा सामान्य प्रकृतिका साइबर अपराधको अनुसन्धान मात्र गर्न सक्षम छ नेपालको साइबर ब्युरो।’जब समस्या जनस्तरसम्म पुग्छ, प्रायः यस्ता ‘साइबर वार’ शुरु हुने गरेका छन्। त्यसकैको आँकलनका आधारमा बिहीबार नै नेपालको साइबर सेक्युरिटीमा आक्रमण हुन सक्ने आँकलन गरेर नेपाल दूरसञ्चार प्राधिकरणलगायतलाई जानकारी पनि गराएका थियौँ,’ एक सुरक्षा अधिकारीले भने, ‘दुवै पक्षबीच सहमति भएकाले साइबर अट्याक नबढ्न नि सक्छ। तर अलर्ट हुन जरुरी छ।’