काठमाडौं । केही दिन अघि मात्र मुख्यमन्त्रीमा निर्वाचन जितेका कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रालय बाँडफाँड फलामको चिउरा चपाउनु जत्तिकै भएको छ । मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि उनले नियुक्त गरेका मन्त्रीहरुले नै चेतावनी दिन थालेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केही दिन अघि मन्त्रीमण्डल गठन गरेका थिए । तर एउटै मन्त्रालयमा धेरै आकांक्षी भएपछि उनलाई कार्य विभाजन गर्न कठिनाई भएको हो ।
पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
जसपाबाट सरकारमा सहभागी विना विभागीयमन्त्री हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र अर्का विना विभागीय मन्त्री दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर दुवैले आफुहरुलाई प्रस्ताव गरेको मन्त्रालयमा चित्त बुझाएनन् । उर्जा मन्त्रालयमा चित्त नबुझाएका आचार्यले अर्थ मन्त्रालय मागेका छन् भने दीपक मनागंले भौतिक पूर्वाधार मन्त्रालय मागेका छन् । उनले त्यो मन्त्रालय नपाए आफै मुख्यमन्त्री बन्ने दावी पनि गरेका छन् । आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
Views: 0