नेपाल फुक्र्यांउँदै देउवा, प्रचण्ड

२०७८ असार १३, आईतवार ०९:५५ गते २०७८ असार १३, आईतवार ०९:५५ गते २०७८ असार १३, आईतवार ०९:५५ गते

काठमाडौं : नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुक्र्याउन थालेका छन्। एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रूपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा गरे।

देउवाले माधव नेपालको प्रशंसा गर्दैे माधव नेपाल लडाकु मित्र भएको बताए। उनले भने, ‘माधवजी लडाकु मित्र हो। उहाँलाई पनि कुनै धोका हुँदैन। उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’ देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुक्र्याएका छन्। ‘माधवजी झन् ठूलो नेता हुनुभयो। माधवजी उक्लिँदै आउनुभएको छ। एमालेको रियल लिडर चाहिँ माधव नेपाल बन्दै हुनुहुन्छ’, दाहालले भने, ‘केपीजी त खस्किँदै खस्किँदै गएका छन्।’

देउवा र दाहालले प्रशंसा गरेपछि माधव नेपालले पनि पार्टीको तर्फबाट प्रधानमन्त्रीको प्रस्ताव आइसके पनि आफू विपक्षी गठबन्धन नछोड्ने बताए।

नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग नमिल्ने स्पष्ट पारे। ‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो’, नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ।’

नेता नेपालले मन उता शरीर यता नभएको बरु सकारात्मक सम्बन्धमा रहेको बताए। ‘तपाईंहरूले भने जस्तो मन यता शरीर उता होइन’, उनले थपे, ‘मन यता सकारात्मक रिलेसनमा छ।’ नेता नेपालले केपी ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरू विद्रोही बनेको बताए। संविधानको धारा ७६ (५) मा पुगेर ओलीको तानाशाही कदम परास्त गर्न विद्रोही एमाले बनेको उनको भनाइ छ। उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको आरोप लगाए।

‘संविधानको धारा ७६(५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको विद्रोही आवाज हो। लोकतान्त्रिक प्रक्रियाबाट तानाशाही जन्मिने रहेछ।’

राष्ट्रपति ओलीको कार्यकर्ता : देउवा
कांग्रेस सभापति देउवाले राष्ट्रपति ओलीको कार्यकर्ता बनेको आरोप लगाए। उनले भने, ‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो। मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो। राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो। ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो।’ सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे। उनले भने, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवा केही दिनपछि प्रधानमन्त्री बन्ने बताए।

सर्वोच्च अदालतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यताअनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। १ सय ४९ सांसदको हस्ताक्षर र १ सय ४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने उनको भनाइ छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले सेटिङमा अदालतबाट फैसला भएको भन्दै अदालतलाई धम्क्याउने काम गरेको आरोप लगाए। मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको आरोप लगाएको भन्दै आपत्ति जनाए। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको अवस्थामा विपक्षी गठबन्धन सक्रिय भएका छन्। अदालतलाई दबाबमा राख्न उनीहरूको सक्रियता बढेको छ। उनीहरू सुनुवाइ सुरुआतदेखि दिनदिनै जसो दबाबका कार्यक्रम गरिरहेका छन्।

annapurna post
थप समाचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *