भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन् ।
सोमबार निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताए । ‘निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ’ उनले भने ‘घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।’ निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिईन् ।
गएको साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको भोली पल्ट बिहान बलात्कारपछि हत्या गरेको अवस्थामा शब भेटिएको थियो ।
सरकार जनजीविकाप्रति गम्भिर भएन
प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको टिप्पणी गरे ।
नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको बताए ।
जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदा समेत सरकार त्यसतर्फ उदासीन बनेको बताए । देशमा हत्या, हिंसा तथा बलात्कारका घट्ना दिनप्रतिदिन घट्नुको सट्टा बढिरहेको बताउदै नेता शर्माले भने ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन ।’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाए ।राजधानी डेली
Views: 0