टोकियो जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भीड लागेका थिए ।मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीले जनाएका छन् । अस्पताल गएका मध्ये ४ सय जनालाई भर्ना नै गर्नु परेको उनीहरूको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।
अधिकारीका अनुसार टोकियोका मात्रै १ हजार ४६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए । अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ ।उनीहरूका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४० दशमलव ३ सेल्सियस पुगेको छ ।
Views: 0