कोरोनाभाइरस लागेकी गर्भवती आमाको मृत्यु, सीजेरियन गरेर यसरी जन्माइयो शिशु

एजेन्सी। ब्राजिलको रेसिफे शहरमा कोरोनाभाइरस लागेकी एक महिलाको मृत्यु हुँदा उनमा ३२ हप्ताको गर्भ थियो । आमाको मृत्यु भए पनि चिकित्सकहरूले सीजेरियन गरेर गर्भमा रहेको शिशुलाई जन्माएका छन् । भिभिएन आल्बकर्क नामक ती महिलालाई कोभिड–१९ को लक्षण देखिएपछि मार्च २८ मा युनिमेड अस्पताल लगिएको थियो । उनलाई भाइरस लागेको पुष्टि भएपछि सघन उपचार इकाइमा पठाइएको थियो ।

अप्रिल ३ मा उनको स्वास्थ्य अवस्था निकै खस्कियो र उनलाई ट्युब दिइयो । त्यसपछि अप्रिल ४ मा उनको सीजेरियन शल्यक्रिया गरियो । बच्चा त जन्माइयो तर आमाको भोलिपल्ट मृत्यु भयो । उनका पार्टनर एरिक सिल्भाले शिशु सघन उपचार इकाइमा रहेको अनि उसको स्वास्थ्य गम्भीर भए पनि स्थिर रहेको बताए । बच्चाको तौल दुई किलो रहेको र उसलाई हृदयघात भएको स्थानीय पत्रिका फोल्हा दे पेर्नाम्बुकोले लेख्यो ।