काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा अध्यक्ष कुमार पन्तले दिएको परराष्ट्र मन्त्रालयविरुद्दको मुद्दा पाटन उच्च अदालतले फेरि अर्को हप्तालाई सारिदिएको छ । एनआरएनएले निकै पर्खिएको पाटन उच्च अदालतमा दर्ता भएको मुद्दा पटक पटक हेर्न नभ्याउदै पेशी सरिरहेको छ । मुद्दा फैसला भएको भए एनआरएनएको विावादमा अर्को बाटो शुरु हुने थियो ।
मार्च २२ देखि सस्थापन पक्ष र संरक्षक परिषदले पटक पटक बोलाएको अधिवेशन कुन आधिकारीक हो, कुन आधिकारिक होइन भन्ने किनारा लाग्ने थियो । तर, फैसला नहुँदा गैरआवासीय नेपालीहरुमा कुन आधिकारिकता हो कुन आधिकारिकता होइन भन्ने अन्यौल जारी नै रह्यो ।
आजको पेशीमा आफ्नो पक्षमा फैसला हुन्छ भन्ने विश्वासले पन्त मंगलबार मात्र काठमाडौं आएका थिए । अहिले एनआरएनएमा रहेका दुवै समूहले तिव्र गतिमा अधिवेशन र निर्वाचनको तयारी गरिरहेका छन् ।
संस्थापन पक्षले बोलाएको निर्वाचन अनलाइनबाट नै हुन्छ भने उम्मेदवारी पनि अनलाइन बाट नै हुने हुनाले कोही पनि नेपाल आउन पर्दैन । तर, प्रमुख संरक्षक डा शेष घलेले आह्वान गरेको विश्व सम्मेलनमा र निर्वाचनमा भने मतदाता र उम्मेदवार आफै काठमाडौंमा नै उपस्थित हुनुपर्छ । जसको लागि याक एण्ड यति होटलमा महाधिवेशन हुँदैछ । यो समूहले प्रत्यक्ष विश्वसम्मेलन र निर्वाचनमा सहभागी हुनुपर्ने परम्परालाई निरन्तरता दिइरहेको छ भने सस्थापन पक्षले पहिलो पटक अनलाइनको माध्यमबाट गर्दैछ ।
प्रत्यक्ष विश्व सम्मेलनमा भाग लिन विश्वभरीबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ । डा घलेले आह्वान गरेको विश्व सम्मेलनको तयारी भव्य रुपमा भएको एनआएनएका कार्यवहाक अध्यक्ष सोनाम लामाले बताए ।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0